तानसेन/ पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २०८३ साउन ५ गते दिउँसो करिब ३ः३० बजे पाल्पा जिल्लाभित्र बस्ने १० वर्षीया बालिका र १६ वर्षीय युवकबिचको घटनासम्बन्धी उजुरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ।
आरोपितले बालिकालाई आफ्नो घरमा बोलाइ लिची खान दिने भन्दै घरको माथिल्लो तलाको कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्न भएको आरोपमा बालकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकसहितको टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले बताउनुभयो । नियन्त्रणमा लिइएका बालकलाई अनुसन्धानका लागि जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याद थप गरिएको उहाँले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना गुपचुप गर्न खोजे पनि लामो समयपछि बाहिर आएको पीडित पक्षको भनाइ छ ।
_गोरखापत्र अनलाइनबाट