पक्राउ परेका व्यक्ति । तस्बिर : बाबुराम कार्की
वराहक्षेत्र/ सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन ९त्रिखुट्टी० का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइनका नट–बल्टु चोरी गरिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका–७ निवासी २९ वर्षीय सुशान्त तामाङ रहनुभएको छ। उहाँलाई बिहीबार साँझ सप्तकोशी नदीकिनार क्षेत्रबाट चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको गस्ती टोलीले सप्तकोशी नदीकिनार क्षेत्रमा प्रोकोपाइनबाट निकालिएका नट–बल्टु चोरी गरिरहेको अवस्थामा तामाङलाई फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार तामाङले विभिन्न आकारका नट–बल्टु बोरामा राखेर लैजान खोजेका थिए। घटनास्थलबाट २३ किलो ४५० ग्राम नट–बल्टु बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो।
पक्राउ परेका तामाङलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-गोरखापत्र अनलाइन