फाईल तस्बिर
धरान/ सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
घाइतेमध्ये देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मंगलबार काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो।
रवीन्द्र मेहेताको मृत्युसँगै सुनसरी घटनापछि सुरु भएको आन्दोलनसँग सम्बन्धित मृत्यु हुनेको संख्या चार पुगेको छ। सिरहामा भएको आन्दोलनका क्रममा गणेश यादवको पनि मृत्यु भएको थियो।
रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको जानकारी चिकित्सकले परिवारलाई दिएका हुन्।
रवीन्द्रका आफन्तका अनुसार उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन सकेको थिएन। बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेपछि विराटनगरमै शल्यक्रिया गरिएको थियो।
अवस्था जटिल बनेपछि खुट्टा काट्नुपर्ने भएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। रवीन्द्रको शव कप्तानगन्ज ल्याउने प्रक्रिया अघि बढाइएको परिवारले जनाएको छ।
साउन १० गते राति देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर १० जना घाइते भएका थिए।
घटनालगत्तै देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि उपचाररत देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।
रवीन्द्रको मृत्युसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। घटनामा घाइते भएका अन्य सात जनाको उपचार विभिन्न अस्पतालमा जारी रहेको छ।
काठमाडौंस्थित ट्रमा सेन्टरमा देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको बायाँ हात र कोखामा गोली लागेको छ।
विराटनगरस्थित न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको उपचार भइरहेको छ।
यस्तै, विराट नर्सिङ होममा देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता तथा देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको उपचार जारी रहेको छ।