धरान/ धरानका एक विद्यार्थी पहिलोपटक अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्न इटाली जाने भएका छन्।
धरान–१६ स्थित युएन नवोदय प्लस +२ कलेजका कक्षा–१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ आगामी अक्टोबर १८ देखि २३, २०२६ सम्म इटालीको मन्टुवामा आयोजना हुने ‘माइलसेट एक्स्पो साइन्स युरोप’ (MILSET Expo-Sciences Europe) मा सहभागी हुने भएका हुन्। यस अवसरमा कलेजले सोमबार विशेष कार्यक्रम आयोजना गरी उनलाई सम्मान तथा बिदाइ गरेको छ।

नेपालभरका हजारौँ विद्यार्थीमध्ये छनोट भएका तीन प्रतिभामध्ये प्रशन्न पनि एक हुन्। विज्ञान, प्रविधि र नवप्रवर्तनमा रुचि राख्ने युवा वैज्ञानिकहरूका लागि आयोजना हुने यो प्रदर्शनी विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय गैर–प्रतिस्पर्धात्मक विज्ञान मञ्चका रूपमा परिचित छ।
प्रदर्शनीमा प्रशन्नले नेपालका बोटबिरुवासम्बन्धी अनुसन्धान र परियोजना प्रस्तुत गर्नेछन्। उनले विश्वका विभिन्न देशबाट सहभागी हुने युवा वैज्ञानिकसँग विज्ञान, प्रविधि, अनुसन्धान र संस्कृतिको आदानप्रदान गर्ने अवसर प्राप्त गर्नेछन्।
प्रदर्शनीमा वातावरण, रोबोटिक्स, अन्तरिक्ष विज्ञान, जैविक प्रविधिलगायत विषयका परियोजना प्रदर्शन गरिनुका साथै अन्तरक्रियात्मक कार्यशाला, वैज्ञानिक सम्मेलन, प्रयोगशाला तथा अनुसन्धान केन्द्रको अवलोकन र सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछन्।
सम्मानपछि बोल्दै प्रशन्नले यो प्रदर्शनी प्रतिस्पर्धाभन्दा पनि ज्ञान, अनुसन्धान र संस्कृतिको आदानप्रदानमा केन्द्रित रहेको बताए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र आफ्नो कलेजको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै उनले यसबाट आफूले नयाँ ज्ञान, अनुभव र अनुसन्धानका अवसर हासिल गर्ने विश्वास व्यक्त गरे।
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले प्रशन्न यस वर्ष विज्ञान सङ्कायमा ए प्लससहित कलेज टपर विद्यार्थी रहेको जानकारी दिँदै उनको सफलता निरन्तरको मेहनत, अनुसन्धानप्रतिको रुचि र नवप्रवर्तनप्रतिको लगावको परिणाम भएको बताए।
"प्रशन्न कलेजको टपर मात्र होइनन्, विज्ञान, प्रविधि र आविष्कारप्रतिको उनको समर्पणकै कारण उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्," तुम्बापोले भने।
उनले प्रशन्नको उपलब्धि कलेजका लागि मात्र नभई धरान र समग्र नेपालकै गौरव भएको उल्लेख गर्दै अन्य विद्यार्थीलाई पनि अनुसन्धान र नवप्रवर्तनमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
प्रशन्न यसअघि १३औँ राष्ट्रिय खगोलशास्त्र प्रतियोगिता–२०२६ को फाइनल चरणमा समेत छनोट भइसकेका प्रतिभाशाली विद्यार्थी हुन्।
सोही कार्यक्रममा कलेजले कक्षा–११ विज्ञान सङ्कायकी छात्रा तथा युवा कवयित्री रिदिमा भुजेललाई पनि सम्मान गरेको थियो। उनले नेपाली कांग्रेसद्वारा बीपी जयन्तीको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै नगद रु. ४,५००, मेडल तथा बीपी कोइरालाका साहित्यिक कृतिहरू पुरस्कारस्वरूप प्राप्त गरेकी थिइन्।
कलेजका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ज्ञानेश्वर झाले आफ्नै विद्यार्थीले अन्तर्राष्ट्रिय विज्ञान मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु कलेजका लागि अत्यन्त गौरवको विषय भएको बताए। उनले युएन नवोदय प्लस–२ कलेजले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी अनुसन्धान, सिर्जनशीलता, नेतृत्व र नवप्रवर्तनमा अघि बढ्न निरन्तर प्रोत्साहन गर्दै आएको उल्लेख गरे।
सम्मान कार्यक्रममा होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, विज्ञान संयोजक कपिल श्रेष्ठ, प्रध्यापक विष्णु दाहाल, नुर खान, विद्यार्थीका अभिभावक तथा शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो। कलेजले खादा, अबिर र प्रशंसापत्र प्रदान गर्दै दुवै विद्यार्थीको उपलब्धिको उच्च सम्मान गरेको थियो।
विज्ञान र साहित्य दुवै क्षेत्रमा आफ्ना विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेपछि युएन नवोदय प्लस+२ कलेजले प्रतिभाको सम्मान गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनशील र अनुसन्धानमुखी विद्यार्थीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
