धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्।
प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो।
समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेर्चन, सांसद हरकराज राई तथा BPKIHS का पूर्वविद्यार्थी एवं सांसद डा. लेखजुङ थापासँग भएको छलफलमा प्रतिष्ठानको संस्थागत सुधार, पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र दीर्घकालीन भविष्यबारे गहन छलफल गरिएको थियो।
छलफलका क्रममा BPKIHS लाई नेपालको स्वास्थ्य, चिकित्सा शिक्षा तथा अनुसन्धान क्षेत्रको रणनीतिक राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने, स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने तथा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि पहल गर्नुपर्ने विषयमा जोड दिइएको समाजले जनाएको छ।
यस्तै, संस्थागत सुधारका लागि तत्काल उच्चस्तरीय राष्ट्रिय अध्ययन तथा सुधार समिति गठन गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
विद्यार्थी कल्याण समाजले BPKIHS Alumni Association (BAA) तथा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुञ्जाङ शेर्पाको समन्वय र निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको छ।
समाजका अध्यक्ष नवराज कुमार देवले जारी संसद अधिवेशनमा BPKIHS का विषयलाई प्राथमिकताका साथ उठाउन तथा संस्थाको संरक्षण र सुदृढीकरणका पक्षमा आवाज उठाउन सबै जनप्रतिनिधिलाई आग्रह गरेका छन्।
“BPKIHS केवल एउटा संस्था होइन, यो नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धान क्षेत्रको गौरवपूर्ण राष्ट्रिय सम्पत्ति हो,” विज्ञप्तिमा उल्लेख छ, “यसको संरक्षण, सुदृढीकरण र स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास राष्ट्रको भविष्यसँग जोडिएको विषय हो।”