धरान/धरान–१७ मा रहेको इमानुअल इङ्लिस स्कुलमा बिहीबार स्कुल क्याप्टेन, भाइस क्याप्टेन र हाउस क्याप्टेन छानिएका छन् ।
यी पदहरूका लागि भएको निर्वाचनबाट क्याप्टेनमा कक्षा १० की विद्यार्थी मोनालिका परियार विजयी भएकी हुन् ।
यस्तै, कक्षा ९ (क) की रक्षा राई भाइस क्याप्टेन भइन् भने हाउस क्याप्टेनका रूपमा रेड हाउसबाट रूसु बराइली, ब्ल्यू हाउसबाट सिजन खड्का, ह्वाइट हाउसबाट प्राश्ना शाक्य र एल्लो हाउसबाट सोफिया राई निर्वाचित भएका छन् ।
क्याप्टेनका लागि चारजना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।
विजयी परियारका साथै कक्षा १० का दानियल राई, कक्षा ९ (क) की आशिका तामाङ र कक्षा ९ (ख) की सरिना मोतेले पनि क्याप्टेनका दागि प्रतिस्पर्धा गरेका थिए । भाइस क्याप्टेनका रूपमा कक्षा ९ (क) की विद्यार्थी रक्षा राई विजयी भइन् ।
कक्षा–१० का मौसम विक र गुराँस विकले पनि यस पदका लागि प्रतिष्पर्धा गरेका थिए ।
निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्मका ३५७ विद्यार्थीले भाग लिएको निर्वाचन अधिकृत आरती बस्नेतले जनाइन् । विद्यालयमा कक्षा ४ देखि १० सम्म ३८७ विद्यार्थी अध्ययनरत छन् ।
निर्वाचनमा खसेको कुल ९२ दशमलव २५ प्रतिशत मतमध्ये एक प्रतिशतभन्दा पनि थोरै मत बदर भएको निर्वाचन अधिकृत बस्नेतले बताइन् ।
विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य–मान्यता, प्रक्रिया र निर्वाचनबारे व्यावहारिक ज्ञान प्रदान गर्न निर्वाचनको अभ्यास गराइएको स्कुलका भाइस प्रिन्सिपल पूर्णकुमार राईले बताए ।