वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा सम्पन्न चौथो संस्करणको “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” को उपाधि वडा नं २ ले जितेको छ ।
शुक्रबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा वडा नं २ ले वडा नं ९ लाई सडेन डेथमा १-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित तथा थप अतिरिक्त समयमा दुवै टिमबाट गोल रहित वरावरि र टाइब्रेकरमा ३-३ गोलको वरावरी खेले पछि खेलको नतिजा सडेन डेथबाट लिएको थियो ।
सडेन डेथमा वडा नं २ ले वडा नं ९ लाई १-० ले पराजित गरेको थियो ।
उपाधिसँगै विजेता वडा नं २ ले नगद २ लाख १ हजारसहित आकर्षक ट्रफी प्राप्त गरेको छ । रनिङ शिल्ड प्रतियोगिता भएकाले विजेता टोलीले अर्को संस्करण सुरु हुनुभन्दा एक महिनाअघिसम्म एक केजी चाँदीको ट्रफी आफ्नो जिम्मामा राख्न पाउनेछ ।
आयोजकका अनुसार उक्त ट्रफी लगातार तीन पटक जित्ने टोलीले मात्र स्थायी रूपमा आफ्नो स्वामित्वमा राख्न पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा वडा नं ९ उपविजेता बन्दै १ लाख १ हजार प्राप्त गर्न सफल भयो भने तेस्रो स्थान हासिल गरेको वडा नं १ ले ५१ हजार र चौथो बनेको वडा नं ५ ले २५ हजारसहित ट्रफी हात पार्यो ।
प्रतियोगितामा विधागत खेलाडि तर्फ ५ गोल गरेका वडा नं १ का बिनोद राई उच्च गोलकर्ताको घोषित भए उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट डिफेन्स घोषित वडा नं २ का रोहन राईले ५ हजार सहित ट्रफी , उत्कृष्ट मिडफिल्डर घोषित वडा नं ९ का संन्तोष श्रेष्ठले ५ हजार सहित ट्रफी , उत्कृष्ट फरवार्ड घोषित वडा नं २ आकास राईले ५ हजार सहित ट्रफी , उत्कृष्ट गोलरक्षक घोषित वडा नं २ का सौरव वरालले ५ हजार सहित ट्रफी, राइजिङ खेलाडी घोषित वडा नं ५ का दिपेन कार्कीले नगद ५ हजार सहित ट्रफी, उत्कृष्ट प्रशिक्षक घोषित वडा नं २ का रोहित साहले ५ हजार सहित ट्रफि, अनुशासित टिम घोषित वडा नं ७ ले ११ हजार र सर्वोत्कृष्ट खेलाडी घोषित वडा नं २ का आकाश राईले २१ हजार सहित ट्रफि त्यस्तै फाइनल खेलमा म्यान अफ द म्याच वडा नं ९ का अविशेक दर्जी घोषित भए, उनले २ हजार ५ सय नगदसहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू, संघ संस्थाका प्रतिनिधिहरुले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगिता वराहक्षेत्र-७, देविघाटस्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको प्रतियोगिताको “खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख ११ गतेदेखि २५ गतेसम्म सम्म आयोजना भएको थियो ।
नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-नकआउट ढाँचामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। यसअघि सम्पन्न संस्करणहरूमा क्रमशः वडा नं. ३, वडा नं. १ र वडा नं. २ ले उपाधि हात पारेको नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यले बताए ।