धरान/ धरान–१० स्थित विजयपुर हस्पिटल प्रा.लि. र धरान–१७ को एक्वा डाइनास्टी इंग्लिस स्कुलबीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण सहकार्य भएको छ।
विद्यालयको पहलमा भएको यस समझदारीले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट डाइरेक्टर अनिस राईको सहभागिता रहेको थियो।
सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्।
जसअन्तर्गत औषधि (फार्मेसी) सेवामा १० प्रतिशत, स्वास्थ्य परीक्षणमा १५ प्रतिशत तथा अस्पताल भर्ना (इनपेसियन्ट) सेवामा २० प्रतिशतसम्म सहुलियत उपलब्ध गराइनेछ।
सहुलियत सेवा लिनका लागि सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा अस्पतालमा पेश गर्नुपर्नेछ। अन्यथा सहुलियत सुविधा उपलब्ध नहुने अस्पतालले जनाएको छ।
यस सहकार्यअन्तर्गत विद्यालयको आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। यस्ता कार्यक्रम सञ्चालनका लागि विजयपुर हस्पिटल तथा विजयपुर टेक्निकल इन्स्टिच्युट लाई विद्यालयले आवश्यक अनुमति दिने सहमति भएको छ।
अस्पताल प्रशासनले यस सहकार्यबाट विद्यालय समुदायलाई गुणस्तरीय, सहज र किफायती स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।