धरान/ सुनसरीको धरान १६ मा रहेको सिद्धार्थ शिशु सदन मा शिक्षककै हातबाट विद्यार्थी कुटिएको घटनाले विद्यालयको अनुशासन र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
कक्षा ५ मा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरी घाइते बनाएको घटना बाहिरिएपछि विद्यालयप्रति अभिभावकको आक्रोश चुलिएको छ ।
कक्षा ५ मा अध्ययनरत विद्यार्थी सिद्धार्थ कटुवाललाई सोमवार शिक्षक प्रदिप सुवेदीले कुटपिट गरेका थिए ।कुटपिटका क्रममा कट्वालको हातमा चोट लाग्ने गरी प्रहार गरिएको बताइएको छ ।
पीडितका अभिभावक धनबहादुर कट्वालका अनुसार विद्यालयले सामान्य अनुशासनका नाममा बालबालिकामाथि शारीरिक हिंसा गर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
“हामीले कहिल्यै छोरा कुटेका थिएनौँ, तर स्कुलमै यति कडा रूपमा कुटियो,” उनले गुनासो गरे,
घटनापछि आमा सीता पौड्याल कट्वालले इलाका प्रहरी कार्यालय धरान मा उजुरी दर्ता गरिसकेकी छन् । अभिभावकहरूले विद्यालय प्रशासनमाथि पनि लापरबाही र घटनालाई सामान्य बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।
यता आरोपित शिक्षक सुवेदीले भने आफूबाट “एक्सिडेन्ट्ली” घटना भएको भन्दै पन्छिन खोजेका छन् ।
उनले अभिभावकसँग माफी माग्न खोज्दा पनि संवाद हुन नसकेको दाबी गरेका छन् । तर, विद्यार्थीलाई लठ्ठीले प्रहार गर्नु स्वयंमा गम्भीर विषय भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।
इलाका प्रहरी कार्यलय का डिएसपी भीषणबाबु राई का अनुसार घटनाबारे निवेदन परिसकेको र आवश्यक छानबिन अघि बढाइने बताएका छन् ।
यता सिद्धार्थ शिशु सदन प्रशासनले भने घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । विद्यालयका एक जिम्मेवार स्रोतका अनुसार उक्त घटना “अनुशासन कायम गराउने क्रममा भएको दुर्भाग्यपूर्ण घटना” भएको दाबी गरिएको छ ।
विद्यालयले अभिभावकसँग समन्वय गर्दै विषय समाधान गर्ने र दोषी देखिएमा सम्बन्धित शिक्षकलाई आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कडा निगरानी र आन्तरिक व्यवस्थापन मजबुत बनाइने पनि विद्यालयले जनाएको छ ।