धरान/ धरान उपमहानगरपालिका–१५ का वडाध्यक्ष नरेश इवारमले सामुदायिक बाल विकास केन्द्रहरू बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताएका छन्।
उनले सिलाम साक्मा नमुना बाल विकास केन्द्रमा आयोजित खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
उनले केन्द्रमा क–ख–ग वा ए–बी–सी–डी सिकाउने मात्र नभई बालबालिकालाई सभ्य व्यवहार, सकारात्मक सोच र राम्रो वातावरणमा हुर्काउने उद्देश्य रहेको स्पष्ट पारे। “बालबालिकाको प्रारम्भिक शिक्षा नै भविष्यको जग हो,” उनले भने।
सिलाम साक्मा बाल विकास केन्द्रमा हाल २६ जना बालबालिका अध्ययनरत रहेका छन्, जहाँ साढे २ देखि ५ वर्षसम्मका बालबालिकालाई राखिन्छ। वडाध्यक्ष इवारमले यस केन्द्रलाई करिब ४५० देखि ५०० घरधुरीको साझा सम्पत्तिको रूपमा व्याख्या गर्दै विपन्न परिवारका लागि यस्तो केन्द्र वरदान सावित भएको उल्लेख गरे।
वडा कार्यालयले चालु आर्थिक वर्षमा केन्द्रका लागि करिब एक लाख रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ। साथै केन्द्रको स्तरोन्नतिमा रोटरी क्लब र राउन्ड टेबलजस्ता संस्थाहरूले समेत सहयोग पुर्याउँदै आएका छन्।
कार्यक्रमका क्रममा संस्थापक गगांराम कुलुङ राईले सामुदायिक सहकार्यबाट केन्द्रलाई नमुना बनाउने लक्ष्य रहेको बताए। कार्यक्रमका सभापति तथा संरक्षक रत्नकुमार नेम्वाङ, केन्द्रका अध्यक्ष मेनु राईकाे उपस्थिति रहेको थियो।
यसैबीच, रोटरी क्लब अफ घोपाका अनुप अग्रवाल र निर्मल मगरको सहयोगमा केन्द्रका लागि ‘सिलिङ’ सामग्रीसमेत उपलब्ध गराइएको जानकारी दिइएको छ।
वडाध्यक्ष इवारमले अभिभावकहरूलाई बालबालिकाको रेखदेखमा सक्रिय हुन आग्रह गर्दै “पैसा मात्र होइन, अभिभावकको समय र सकारात्मक सोचले नै केन्द्रको गुणस्तर उकास्छ,” भन्नेमा जोड दिए।
कार्यक्रमले स्थानीय सरकार, समुदाय र विभिन्न संघ–संस्थाको सहकार्यबाट बाल विकास केन्द्रहरूलाई सुदृढ बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने प्रयासलाई उजागर गरेको छ।