धरान/सुच्चा राई कल्याणकारी समाज, धरान–सुनसरीले आफ्नो २६औँ स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
धरानको भानुचोकमा आयोजना गरिएको उक्त कार्यक्रमबाट ११३ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष विनोद राईले जानकारी दिनुभयो। संकलित रगतमा ८५ जना पुरुष र २८ जना महिला रक्तदाताको सहभागिता रहेको थियो।
समाजले स्थापना दिवसको अवसरमा हरेक वर्ष निरन्तर रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष राईले बताउनुभयो। “रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो,” उहाँले भन्नुभयो।
समुदायबाट सामाजिक तथा मानवीय सेवामा योगदान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने समाजको प्रतिबद्धता रहेको छ।
शनिबारको सार्वजनिक बिदालाई सदुपयोग गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा Blood For Need – आवश्यकतामा रगत तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरी ब्लड बैंकको प्राविधिक सहयोग रहेको थियो।
कार्यक्रममा अमूल्य रगत दान गर्ने सम्पूर्ण महान रक्तदाताप्रति आयोजक संस्था तथा सहयोगी निकायहरूले हार्दिक नमन र आभार व्यक्त गरेका छन्।
“रक्तदान–जीवनदान, जीवनदान–महादान” भन्ने सन्देशका साथ सम्पन्न भएको यस कार्यक्रमले मानवीय सेवामा समाजको सक्रिय भूमिकालाई थप बलियो बनाएको छ।