धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।
धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। जर्जियन क्लब भारतका हेमराज भुजेलले खेलको पहिलो हाफको ८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि आयोजक धरान फुटबल क्लबले १८औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेको थियो। दोस्रो हाफमा धरानका कयौँ प्रयास असफल भए।
ट्राइबेकरमा आयोजक धरान फुटबल क्लबका विवेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले गोल गरे। जर्जियन क्लब भारतका शारद मुन्दा र साईजाले गोल गरे भने बक्स प्रधान र विशाल क्षेत्रीको प्रहार विफल भयो।
खेलको म्यान अफ द म्याच आयोजक धरान फुटबल क्लबका विपुल मगर घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
घरेलु दर्शकको उत्साहपूर्ण समर्थन पाएको धरान फुटबल क्लबले खेलभरि आक्रामक प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो। गोलरक्षक र डिफेन्डरको मजबुत प्रदर्शनले धरानको जित सुनिश्चित गर्यो।
यस जितसँगै आयोजक धरान फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले गरेका थिए भने कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई विशेष अतिथिका रूपमा उपस्थित थिए।
भोलि शुक्रबारको खेल रोयल थिम्पु भुटान र झापा ११ बीच हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।