धरान/ मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औँ संस्करण यही माघ २२ गतेदेखि धरानमा सुरु हुँदैछ।
आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र फागुन २ गते फाइनल खेल हुनेछ।
धरानको खेल पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई चलायमान बनाउँदै आएको यस प्रतियोगितामा यस वर्ष नेपाल, भारत र भुटानका गरी १० वटा उत्कृष्ट क्लबहरूको सहभागिता रहनेछ। दर्शकको चाहनाअनुसार यस पटक टिम संख्या आठबाट बढाएर १० पुर्याइएको आयोजकले जनाएको छ।
आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार व्यवस्थापन, मैदान, सुरक्षा, टिम आवास तथा दर्शकमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइएको छ। “आर्थिक भार बढे पनि खेलको स्तर र प्रतिस्पर्धा अझ रोचक हुनेछ,” उनले भने। प्रतियोगिताको अवधिभर धरान नै फुटबल उत्सवमा परिणत हुने उनको भनाइ छ।
प्रतियोगितामा भारतको जर्जियन एफसी, भुटानको रोयन एफसीसहित नेपालका चर्च ब्वाइज युनाइटेड काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, सातदोबाटो युथ क्लब ललितपुर, झापा ११, न्यू रोड टिम काठमाडौं, ब्वाइज युनाइटेड काठमाडौं, लालीगुराँस ए–पोखरा र आयोजक धरान एफसी सहभागी छन्।
२५ औँ संस्करणसम्म आयोजक धरान एफसी चार पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन। यस वर्ष भने उपाधि जित्ने लक्ष्यसहित तयारी गरिएको तामाङले बताए। राष्ट्रिय स्तरका खेलाडी तथा प्रशिक्षकको नेतृत्वमा धरानका युवा खेलाडीलाई समेत समेटेर टिम तयार पारिएको छ। आगामी दिनमा खेलाडी उत्पादन, युवा विकास कार्यक्रम र एकेडेमी सुदृढीकरणमा क्लब केन्द्रित हुने उनले जानकारी दिए।
बूढासुब्बा गोल्डकपका कारण सुनसरीसहित मोरङ, झापा, धनकुटा, इलामलगायत जिल्लाबाट हजारौँ दर्शक धरान आउने गरेका छन्। यसले होटल, यातायात, व्यापार र पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुर्याएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी एक टिम कम्तीमा तीन दिन धरान बस्दा औसतमा तीन लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।
खेलाडी तथा अफिसियलहरूलाई बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली, विष्णुपादुका, वराहक्षेत्र र भेडेटारजस्ता पर्यटकीय स्थल घुमाइने व्यवस्था गरिएको छ। खेलसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय पर्यटन व्यवसायीलाई पनि सक्रिय हुन आग्रह गरिएको छ।
यस वर्ष प्रतियोगितालाई थप सभ्य, सुरक्षित र दर्शकमैत्री बनाउन व्यवस्थापन, सुरक्षा र आर्थिक पारदर्शितामा जोड दिइएको छ। धरान उपमहानगरपालिकाले पहिलो र दोस्रो पुरस्कारको रकम सहयोग गरेपछि व्यवस्थापन केही सहज भएको आयोजकले जनाएको छ। स्थानीय व्यवसायी, देश–विदेशमा रहेका सहयोगी दाता तथा गोरखा ब्रुअरी, निम्बुपानीलगायतका कम्पनीको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो।
आयोजक धरान फुटबल क्लबले दर्शकलाई सभ्य रूपमा खेलको आनन्द लिन, खेलाडीलाई अनुशासन, मिहिनेत र इमान्दारिताका साथ प्रतिस्पर्धा गर्न आग्रह गरेको छ। नौ दिनसम्म चल्ने यस फुटबल महापर्वमा टिकट काटेर खेल हेर्नु नै धरानको आर्थिक र पर्यटन विकासमा प्रत्यक्ष योगदान हुने आयोजकको भनाइ छ।