पूर्वी पहाडको सुन्तला धरानमा: किसानदेखि व्यापारीसम्म उत्साह, दैनिक ४० मेट्रिक टनसम्म कारोबार
- पुस ६, २०८२
- कोशीपत्र/संवाददाता
-संगिता राई (स्वर्णिम)
धरान/ पूर्वी पहाडी जिल्लामा उत्पादन भएको सुन्तलाको उत्पादन बढेसँगै धरान कृषि बजारमा सुन्तला कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेसँगै धरानस्थित कृषि बजारमा किसानदेखि व्यापारीसम्म उत्साह देखिएको छ। हाल धरान कृषि बजारबाट दैनिक ३० देखि ४० मेट्रिक टनसम्म सुन्तलाको कारोबार भइरहेको छ।
धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, खोटाङ, सङ्खुवासभा, पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानहरूले सुन्तला बोकेर धरान उपमहानगरपालिका–१३ स्थित धरान कृषि उपज बजारमा ल्याइरहेका छन्। बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्षको तुलनामा यस वर्ष कार्तिक–मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला बजारमा भित्रिएको छ।
उनका अनुसार यस वर्ष सुन्तलाको कारोबार पनि करिब ३० प्रतिशतले बढेको छ। “बजारमा सुन्तलाको माग राम्रो छ, किसानले ल्याएको सुन्तला सजिलै बिक्री भइरहेको छ, यो किसान र उपभोक्ता दुवैका लागि सकारात्मक अवस्था हो,” भट्टराईले बताए। पछिल्लो समय सुन्तला खेतीको क्षेत्र विस्तार हुनु पनि कारोबार बढ्नुको प्रमुख कारण रहेको उनको भनाइ छ। कार्तिक १५ गतेदेखि बजारमा आउन थालेको सुन्तला चैतको दोस्रो सातासम्म निरन्तर आउने गर्दछ।
भोजपुरका किसान प्रदीप राई विगत १३ वर्षदेखि सुन्तला व्यवसायमा संलग्न छन्। उनले भने, “प्रत्येक वर्ष २० देखि ३० मेट्रिक टनसम्म सुन्तला बिक्री गर्दै आएकोमा गत वर्ष १६ मेट्रिक टन मात्र उत्पादन भयो। तर यस वर्ष भने दुई महिनाकै अवधिमा १२ मेट्रिक टनभन्दा बढी सुन्तला बिक्री भइसकेको छ।” उत्पादन राम्रो भएकाले मूल्य यथावत् रहे पनि आम्दानी बढ्ने उनको अपेक्षा छ।
व्यापारी अशोक राईका अनुसार यस वर्ष फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो।
“वर्षा भए पनि ठूलो क्षति भएन, रोग र किरा पनि कमै लाग्यो,” उनले भने। पछिल्लो समय किसानहरूले मकै र धान खेती हुने खेतबारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको राईको भनाइ छ।
मूल्य भने पछिल्ला चार वर्षदेखि प्रायः स्थिर नै छ। सुन्तलाको साइजअनुसार प्रतिकिलो ३० देखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरूले बताएका छन्। २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आएका व्यापारी टिकाराम श्रेष्ठका अनुसार वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला कारोबार हुँदै आएको छ
। धरानबाट दमक, काँकडभिट्टा, झापा हुँदै पश्चिमी क्षेत्रसम्म सुन्तला पठाइने गरेको उनले जानकारी दिए।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार यस वर्ष धरान कृषि बजारमा सुन्तला प्रशस्त मात्रामा आएको छ र किसान तथा व्यापारीले ल्याएको सुन्तला सहज रूपमा खपत भइरहेको छ। “जति सुन्तला आउँछ, सबै बिक्री भइरहेको छ,” उनले भने।
धरान कृषि उपज बजारको तथ्याङ्क अनुसार गत वर्ष करिब पाँच हजार मेट्रिक टन सुन्तला कारोबार हुँदा झण्डै ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने करिब २० हजार मेट्रिक टन सुन्तला कारोबार हुने अनुमान गरिएको छ। धरानबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक तथा मधेश प्रदेशका विभिन्न जिल्लासम्म पूर्वी पहाडको सुन्तला पुग्ने गरेको छ।