धरान/ धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र विजयपुर हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार अब हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर हस्पिटलमा उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्यालयको अनुरोधपछि हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो।
सम्झौताबारे जानकारी दिँदै विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बिरामी कोही नहोस् भन्ने सबैको चाहना हुँदाहुँदै पनि उपचार आवश्यक परेमा विद्यालयको सिफारिस पत्र वा आधिकारिक परिचयपत्र (ID Card) का आधारमा छुट सुविधा प्रदान गरिने बताए।
उनका अनुसार यसअघि नै छुटसहित सञ्चालनमा रहेका ‘हेल्थ प्याकेज’ सेवामा भने यो अतिरिक्त छुट लागू नहुनेछ, तर अन्य सबै नियमित स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
सम्झौतापछि बोल्दै हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक श्रीगंगा राम कुलुङले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हस्पिटलसँग सहकार्य गरिएको बताए।
उनले यस सहकार्यका लागि विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडा तथा सम्पूर्ण व्यवस्थापन टोलीप्रति धन्यवाद व्यक्त गरे।
उक्त सम्झौतिले शैक्षिक संस्था र स्वास्थ्य सेवाबीच सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गर्दै समुदायको स्वास्थ्य पहुँच थप सहज बनाउने विश्वास गरिएको छ।