धरान/ धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा गायन र नृत्य विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
मेलोडी सिनियरतर्फ कक्षा ६ की नुमा लिम्बु प्रथम भइन् भने कक्षा ८ का याङछाहाङ राई दोस्रो र कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भए। मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम, कक्षा ४ की साइवोङ लिम्बु दोस्रो तथा कक्षा २ का सेजल राई तेस्रो भए।
मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम बने भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्षा ७ की सिसिलुङ्मा लिम्बु तेस्रो भइन्।
त्यस्तै मोसन जुनियरतर्फ कक्षा २ की लिलिमहाङमा सुव्वा प्रथम, कक्षा ४ की शुभश्री निरौला दोस्रो तथा कक्षा ३ की जयरा पोर्तेल तेस्रो भइन्।
प्रतियोगितालाई निष्पक्ष बनाउन विद्यालय बाहिरका निर्णायकहरू आमन्त्रण गरिएको विद्यालयका प्रिन्सिपल तेजमान लिम्बुले जानकारी दिनुभयो।
सिनियर समूहमा कक्षा ६ देखि १० र जुनियर समूहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी थिए।
विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालयका निर्देशक दुर्गा सुवेदीले यस्ता कार्यक्रमले कला–संस्कृतिको जगेर्ना, आत्मविश्वास अभिवृद्धि र लुकेका प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले विजेतालाई पुरस्कार वितरण गर्नुभयो।