बिराटनगर/ बिराटनगर इन्टरनेशनल कलेज (BIC) ले आइतबार इटहरीस्थित सोाल्टी वेस्टेन्डमा आयोजना गरेको दीक्षान्त समारोह–२०२५ अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनत, प्रतिबद्धता र शैक्षिक उपलब्धिलाई सम्मानित गर्दै कार्यक्रम सम्पन्न गरेको हो।
कलेजका कुल ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management तहबाट दीक्षित भएका हुन्। कलेजका अनुसार यी विद्यार्थीहरू वैश्विक तथा स्थानीय करियर अवसरमा अघि बढ्न आवश्यक दक्षतासहित तयार भएका छन्।
कार्यक्रममा इनोभेट नेपाल ग्रुप (ING) का संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेतृत्व क्षमता, सकारात्मक सोच र सामाजिक जिम्मेवारीसहित भविष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गरे।
यस्तै, कलेजका शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि सहभागी हुँदै कलेज–विश्वविद्यालयबीचको मजबुत साझेदारीले नै उच्च गुणस्तरीय शैक्षिक नतिजा दिन सफल भएको उल्लेख गरे। उनले विद्यार्थीहरूको अनुशासन, मेहनत र प्रतिबद्धताको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना दिए।
कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई हार्दिक बधाइँ दिंदै उनीहरूले व्यवस्थापन, उद्यमशीलता, आतिथ्य सेवा तथा अन्तर्राष्ट्रिय अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।
दीक्षान्त कार्यक्रम भव्य आतिथ्य, मनोहारि प्रस्तुति र उत्साहपूर्ण वातावरणसँगै सम्पन्न भएको कलेजले जनाएको छ।