धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरूले शुक्रबार धरान–४ मा रहेको चर्चित ढुङ्गेपार्कको शैक्षिक अवलोकन यात्रा सम्पन्न गरेका छन्।
ढुङ्गामा कुदिएका राष्ट्रिय व्यक्तित्वका जीवन्त शिल्प नजिकबाट अवलोकन गर्दै उनीहरूले कला, इतिहास र सिर्जनशीलताको अनौठो अनुभव प्राप्त गरे।
पार्क भ्रमणका क्रममा वडा अध्यक्ष धनबहादुर राई स्वयं बिद्यार्थीहरूलाई मार्गदर्शन गर्दै गौतम बुद्ध, बिश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत, क्रिकेटर पारस खड्का, फुटबलर प्रीति राई, ऊर्जा अभियन्ता कुलमान घिसिङलगायत देशका योगदानकारी व्यक्तित्वका बारेमा रोचक विवरण प्रस्तुत गरेका थिए।
उनका अनुसार यो पार्क सरकार, उपमहानगरपालिका वा वडा कार्यालयको कुनै बजेट विनै, विदेश–देशमा रहेका दाताहरूको सहयोग तथा स्थानीय मूर्तिकारहरूको श्रमदानमा निर्माण गरिएको प्रेरणादायी नमुना हो।
स्कुलका निर्देशक गङ्गाराम कुलुङले बिद्यार्थीलाई व्यवहारिक सिकाइमा जोड दिन यस किसिमका अवलोकन यात्राले महत्वपूर्ण योगदान पुर्याउने बताए।
“स्थानीय स्तरमै रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको मूल्य, महत्व र सिर्जनशीलता बुझाउन आजको भ्रमण निकै उपयोगी भयो,” उनले भने।
भ्रमणमा सहभागी छात्रा आस्था उदासले ढुङ्गामा कुदिएका राष्ट्रिय व्यक्तित्वका शिल्प हेर्दा असाध्यै प्रेरणा प्राप्त भएको बताइन्। अर्की छात्रा प्रीयन्का तामाङले “ढुङ्गाबाट पनि यति सुन्दर, अर्थपूर्ण र कलात्मक पार्क निर्माण हुन सक्छ भन्ने आज थाहा पाएँ,” भन्दै उत्साह व्यक्त गरिन्।
बिद्यार्थीहरूसँगै रहेका शिक्षक–शिक्षिकाले पनि ढुङ्गेपार्कको कलात्मक संरचना र सामाजिक योगदानले सबैलाई प्रेरित बनाएको बताए।