धरान/ झापामा पहिलो पटक आयोजना हुन लागेको एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेड महिला टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।
शिवसताक्षी नगरपालिका–१० स्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली, ए–डिभिजन क्लबहरू र भारत सिक्किमको एक टिमसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब (सिक्किम) बीच हुनेछ। त्यसैगरी तेस्रो खेल कात्तिक १९ गते संकटा क्लब र झापा फुटबल क्लब बीच, चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लब बीच हुने तय गरिएको छ।
कात्तिक २४ गतेसम्म चल्ने यस गोल्डकपको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।