मोरङ/१८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम विभत्स अवस्थामा मृत फेला परेकी छिन्।
अंशुको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ।
गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भन्दै घरबाट निस्केकी अंशु त्यसयता बेपत्ता थिइन्। परिवारले सर्वत्र खोजी गरे पनि उनीबारे कुनै पत्ता नलागेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार बालिकाको हत्या कसले र किन गर्यो भन्ने विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरिएको छ।
उनले भने, “अपराधी पहिचान र नियन्त्रणमा लिन प्रहरी टोलीले सबै कोणबाट खोजी कार्य तीव्र गतिमा अघि बढाएको छ।”
घटनापछि गाउँभर शोक र आक्रोश फैलिएको छ। स्थानीय बासिन्दाले अपराधीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।