धरान/नेपाली चलचित्र ‘बलिदान’ ले दशैँको भीडभाड पार गरेर पनि लोकप्रियताको रफ्तार कम गरेको छैन।
बुधवारको ‘डिल डे’ (५० प्रतिशत छुट) को अवसरमा देशभरका प्रमुख मल्टिप्लेक्सदेखि एकल हलसम्म दर्शकको भीड उम्लिएको छ।
क्युएफएक्स, बिग मुभिज, आइएनआइ, एफक्युब, वन सिनेमा लगायतका हलहरूमा अधिकांश शो अघिबाटै हाउसफुल बुक भएको हल सञ्चालकहरूले जनाएका छन्। काठमाडौंसँगै धनगढी, विराटनगर, बुटवल, पोखरा, चितवन, नेपालगन्ज र झापासम्म ‘बलिदान’ को व्यापार मजबुत रहेको वितरकहरूको दाबी छ।
समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढा र कविता रायजस्ता चर्चित कलाकारले पर्दामा प्रस्तुत गरेको आमा–छोराको माया, त्याग र देशप्रेमको कथाले दर्शकलाई भिजाइरहेको छ। समीक्षकदेखि साधारण दर्शकसम्मले यसलाई “भावनात्मक, यथार्थपरक र मनोरञ्जनात्मक मिश्रण” भन्दै प्रशंसा गरिरहेका छन्।
निर्देशक सन्तोष सेनले बुधवारको भीडलाई ‘बलिदान’ माथिको जनविश्वासको प्रमाण बताउँदै भने,
“दर्शकले मिहिनेतको कदर गरेर हल भरिदिँदा ऊर्जा दोब्बर हुन्छ। यो रफ्तार अझै अगाडि बढ्छ भन्ने विश्वास छ।”
‘आशुसेन फिल्म प्रोडक्सन प्रा. लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। दोस्रो हप्तामा प्रवेश गरिसक्दा पनि हल हाउसफुल हुनु ‘बलिदान’ नेपाली चलचित्रमा नयाँ इतिहास बनाउँदैछ भन्ने संकेत हो।