-तस्बिर झापाको चारआलीमा अवस्थित पाउ पाथीभरा देबी
झापा/मेचीनगर–१३, चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटी र अन्य आय स्रोतबाट एक आर्थिक वर्षमै १ करोड ४२ लाख ८१ हजार रुपैयाँ आम्दानी भएको छ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको यस धार्मिक स्थलको व्यवस्थापनका लागि २०७१ सालमा पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको हो।
समितिका अध्यक्ष लोकराज ढकालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र दान पेटिकाबाट ७४ लाख ७४ हजार, सहयोग रसिदबाट ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीमार्फत १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ सङ्कलन भएको छ।
त्यसैगरी, बैंकमा रहेको बचतको ब्याजबापत ५ लाख ६० हजार, अनलाइनमार्फत २ लाख ५४ हजार र विविध आम्दानी शीर्षकमा ३० हजार ७२० रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए।
समितिले संकलित रकमलाई बैंक खातामार्फत व्यवस्थापन गर्दै आएको छ।
आय–व्यय सार्वजनिक गर्दै समितिले सो अवधिमा ५७ लाख रुपैयाँ मन्दिरका पुजारी तथा कर्मचारीको पारिश्रमिक, आवश्यक संरचना निर्माण, शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने र एक भवन निर्माणमा खर्च भएको जनाएको छ।
हाल समितिको बैंक मौज्दात १ करोड १२ लाख २१ हजार रुपैयाँ रहेको छ।
समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरी नियमित पारिश्रमिक प्रदान गर्दै आएको छ।
पवित्र पाथिभरा देवीको पाउ रहेको मानिने यस स्थानमा दैनिक सयौँ भक्तजन दर्शन गर्न आउने गर्छन्। भारतको पश्चिम बंगाल, सिक्किम, आसामलगायत विभिन्न स्थानबाट समेत यहाँ श्रद्धालु आउने गरेका छन्।