सुनसरी/ सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा दुई फरक स्थानबाट लागूऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ।
मंगलवार दिउँसो (आज) १२:५० बजे इटहरी उपमहानगरपालिका–२०, नविन भिलेजमा खटिएको प्रहरी टोलीले खोटाङ च्यानडाँडा–८ घर भएकी ३८ वर्षीया निर्मला राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनको साथबाट ट्रामाडोल ५ पत्ता (५० पिस) र डिकोलिक ५ पत्ता (५० पिस) बरामद गरिएको छ।
त्यसैगरी, आजै दिउँसो करिब १२:०० बजे इनरुवा नगरपालिका–४ बसचौकमा खटिएको संयुक्त प्रहरी टोलीले बराहक्षेत्र–५ घर भएका २७ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ। उनले ढाडमा लुकाएर ल्याएको अवस्थामा ट्रामाडोल ११५ क्याप्सुल, स्पास्मो २४ क्याप्सुल र नाइट्रोसेन १७ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवैजनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ।