सुनसरी/ विशेष सूचनाका आधारमा प्रहरीले आइतबार दिउँसो दुई छुट्टाछुट्टै अपरेशनमार्फत ठूलो परिमाणको लागू औषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।
पहिलो अपरेशनमा, बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित ५० वर्षीय मुस्ताक मियाको टिनको छानो र बाँसको बेरा भएको घरमा खानतलासी गर्दा ७८ केजी (अठ्हत्तर किलो) गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। उक्त गाँजा ओसार–पसारमा संलग्न बराहक्षेत्र–६ का बलराम यादवलाई समेत पक्राउ गरिएको छ।
साथै, पटेरको घारीमा लुकाइएका BR 10 AQ 55427 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ।
साेहि दिन साँझ दोस्रो अपरेशनमा, इनरुवा नगरपालिका–४ बसचोकमा अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलीचोकबाट सखुवागाछी तर्फ पैदल जाँदै गरेका ईटहरी–५ का ५३ वर्षीय विशाल माझी र २५ वर्षीय सचिन लिम्बुको साथबाट २.३८ ग्राम (२ ग्राम ३८० मिलिग्राम) ब्राउन सुगर बरामद गरेको छ।
उनीहरूलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।