-फणिन्द्र तिम्सिना
धरान/ धरान उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा विकासभन्दा बढी विवाद हावी भएको देखिएको छ।
कार्यपालिका भित्रको समन्वयहीनता, बजेट निर्माणमा अड्चन, र कोशी खानेपानी आयोजना जस्ता दीर्घकालीन योजनामा अन्योलको अवस्था देखिएपछि नगरवासी निराश बनेका छन्।
धरानका प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबीच विश्वासको संकट चुलिएको छ। यही असहमतिले गर्दा चालू आर्थिक वर्षको बजेटसमेत समयमा पारित हुन सकेन।
“कार्यपालिकाको बैठकमै स्पष्ट मतभेद देखियो। समन्वयको अभाव र नेतृत्वबीचको असहज सम्बन्धले बजेट प्रक्रिया नै थलिएको छ,” लिम्बुले कोशीपत्र अनलाइन सँग भने। बजेटको ढिलाइसँगै नगरका नियमित योजना र जनसेवा प्रभावित भइरहेका छन्।
भिडियो:
उनी कोशी खानेपानी आयोजना बारे पनि स्पष्ट देखिन्छन्। हालको मोडलअनुसार ८५ प्रतिशत संघीय अनुदान र १५ प्रतिशत स्थानीय ऋण रहने प्रस्तावप्रति उनले असहमति जनाए। “धरानको आर्थिक अवस्था कमजोर छ। यस्तो बेलामा १५ प्रतिशत ऋण बोकेर योजना अघि बढाउन सकिँदैन,” उनले भने।
कोशी आयोजनाको लागत करीब ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ। माओवादी केन्द्रसहित विपक्षी दलहरूले पूर्ण संघीय अनुदानको माग गर्दै आएका छन्। उनीहरूको भनाइमा, धरानजस्तो आर्थिक रूपमा खस्कँदै गएको शहरले ठूलो ऋण उठाउन सक्दैन।
यता, मेयर हर्क साम्पाङले खानेपानीमा चासो देखाए पनि उपप्रमुख र अन्य सदस्यहरूसँग पर्याप्त समन्वय गर्न नसकेको आरोप पनि लाग्दै आएको छ। लिम्बुले मेयरको इमान्दारिता प्रशंसनीय भए पनि एकल निर्णय प्रणालीले समस्याहरू झनै बढाएको बताए।
राजनीतिक असमझदारीबीच बजेट, खानेपानी आयोजना, तथा अन्य विकास योजनाहरू अन्योलमा परेका छन्। धरानका जनताले अब नेतृत्वले सहकार्य गरेर समाधान ल्याउने आशा गरेका छन्।