धरान/ धरान–१२ स्थित पब्लिक हाईस्कुलमा सञ्चालित एक साताको उद्घोषण कला तालिम सोमबार सम्पन्न भएको छ।
पब्लिक मञ्चको आयोजनामा भएको तालिमले बर्खे बिदाको सदुपयोग गर्दै विद्यार्थीको आत्मविश्वास, वाककला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्याएको छ।
कार्यक्रमकी प्रमुख अतिथि, ८८ वर्षीया समाजसेवी सरला कायस्थले विद्यार्थीलाई मिहिनेत र अनुशासनको बाटो समात्दै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्दै शुभकामना दिइन्।
शिक्षक–अभिभावक संघ अध्यक्ष राजेन्द्र किरातिले अध्ययनसँगै सामाजिक र अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन विद्यार्थीलाई आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि तालिम आयोजना गरिएको बताए।
तालिममा प्रशिक्षकका रूपमा मोहन श्रेष्ठ, तिर्थ कार्की र योगेशबाबु काफ्लेले उद्घोषण कला सिकाएका थिए। कार्यक्रममा बि.ब्य.स. अध्यक्ष हरि बहादुर कार्कीले सहभागीहरूलाई सफलताको शुभकामना दिए।
सहभागी विद्यार्थी ओजस्वी निरौला र स्विकृति पौडेलले तालिमले आफ्नो बोल्ने शैली र आत्मविश्वासमा उल्लेखनीय सुधार आएको बताए।
प्रमुख अतिथि कायस्थ, प्र.अ. डा. झा, संघ अध्यक्ष किराति र बि.ब्य.स. अध्यक्ष कार्कीले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा सहायक प्रधानाध्यापक लेखनाथ भट्टराई, एकेडेमिक इन्चार्ज बिरेन्द्र बहादुर शाह, मञ्चका सल्लाहकार तथा शिक्षक निरज आचार्य, पब्लिक मञ्चका पदाधिकारी तथा शिक्षकको उपस्थिति रहेको थियो।
पब्लिक मञ्चकी अध्यक्ष तमन्ना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रनिस रेग्मीले संचालन गरेका थिए।
