तस्बिर:शव निकाल्दै सुरक्षाकर्मी
रसुवा/ धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर दुई युवाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरू साउन १० गते काठमाडौँबाट रसुवातर्फ गएका थिए भने साउन ११ गते गोसाइँकुण्ड पुगेका थिए। कुण्डमा स्नान गर्ने क्रममा एक्कासि डुबेर बेपत्ता भएका उनीहरूको खोजी गर्दा आज बिहान दुवै जनाको शव फेला परेको हो।
डुबेको देखेपछि तीर्थयात्रीहरूले तत्काल सुरक्षाकर्मीलाई जानकारी गराए पनि तत्काल उद्धार सम्भव नभएको बताइएको छ। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालित भई खोजी कार्य थालिएको थियो।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले शव बिहान मात्रै कुण्डबाट निकालिएको जानकारी दिँदै गोसाइँकुण्डबाट धुन्चेसम्म ल्याउन कठिनाइ रहेको र अब शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजानेबारे छलफल भइरहेको बताए।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकको पहिचान खुलेसँगै शव व्यवस्थापनका लागि समन्वय भइरहेको जानकारी दिएका छन्।
गोसाइँकुण्ड समुद्री सतहदेखि झन्डै ४,३८० मिटर उचाइमा अवस्थित एक प्रमुख हिन्दू तीर्थस्थल हो। जनैपूर्णिमा लगायत विभिन्न धार्मिक अवसरमा हजारौं भक्तजन यहाँ स्नान गर्न पुग्ने गर्छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।