धरान/ कोशीबाट धरानमा खानेपानी ल्याउने महत्त्वाकांक्षी योजना अघि बढिरहेको बेला स्थानीय सरकार प्रमुखको वेवास्ताका कारण योजना अलपत्र पर्ने अवस्थामा पुगेको भन्दै नेकपा एमाले धरानले त्यसको कार्यान्वयनका लागि सक्रिय पहल थालेको छ।
सोमबार एमाले धरानले पार्टी नेता, प्रदेश सांसद, र माथिल्लो कमिटीका नेताहरूको सहभागितामा आयोजना सम्पन्न एक विशेष बैठकले कोशी खानेपानी प्रोजेक्ट संघीय सरकारको पहलमा तत्काल कार्यान्वयन गर्न माग गरेको हो।
बैठकमा कोशी प्रदेशका तीन सांसद—रमेश कुमार वस्नेत, विजय कुमार राई र यशोदा कायस्थ, पूर्व संघीय सांसद जयकुमार राई, प्रदेश सदस्य प्रकाश राई तथा एमाले सुनसरीका सदस्य नरेश इवारम सहभागी थिए। उनीहरूले अब यो प्रोजेक्ट धरानमै सञ्चालन गर्न धरानका राजनीतिक दल, संघसंस्था, उद्योगी-व्यापारी तथा सर्वसाधारणसँग व्यापक छलफल र समन्वय गर्ने बताएका छन्।
एमाले धरान अध्यक्ष एभेङका अनुसार प्रोजेक्टको ८५ प्रतिशत लागत नेपाल सरकारले एशियाली विकास बैंक (एडिबी) मार्फत अनुदान स्वरूप बेहोर्नेछ भने बाँकी १५ प्रतिशत मात्र धरानको तर्फबाट लगानी गर्नुपर्नेछ। तर मेयर हर्कराज राईको निरन्तर वेवास्ताका कारण यो आयोजना अन्यत्र सर्ने खतरा बढेको भन्दै अध्यक्ष एभेङले धरानबासीलाई सचेत र जागरुक बन्न आग्रह गरे।
झन्डै ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना कार्यान्वयनका लागि आवश्यक डिपिआर भइसकेको छ। खानेपानी मन्त्री प्रदीप यादव समेत केही समयअघि सोही प्रयोजनका लागि धरान आएका थिए, तर मेयर राईले भेट नगरेको एमाले धरानको आरोप छ।
सरकारले असार १५ गते उपमहानगरलाई गुठीसँग समन्वय गरी परियोजनाका लागि आवश्यक जग्गाको स्वामित्व लिन पत्राचार गरे पनि नगर प्रमुखको चासो नदेखिएकाले काम अघि बढ्न सकेको छैन। अब साउन २५ देखि भदौ ७ गतेभित्र टेन्डर प्रक्रिया नभएमा लगानी अन्यत्र सर्ने निश्चित भएको नेताहरूले बताए।
आउँदो शनिबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सरोकारवाला निकाय, संघ-संस्था र राजनीतिक दलसँग थप छलफल हुने तय भएको छ।
यसैबीच, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको स्वास्थ्य विमा कार्यक्रम असोजसम्म मात्र सेवा दिनेगरी स्वीकृत गरिएको छ। त्यसपछि के हुने भन्ने अन्योल हटाउनका लागि यो सेवा निरन्तर सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णय एमाले धरानले गरेको छ।
