धनरा/ साउनको पहिलो सोमबारदेखि बोलबम सुरु भएसँगै धरानको पिण्डेश्वर मन्दिरमा धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थल शिवजट्टाबाट जल ल्याएर चढाउने परम्पराको सुरुवात भएको छ ।
सोमबारदेखि यो परम्पराको सुरुवात गरिएको हो । यसको अगुवाई धरान उपमहानगरपालिका वडा नम्बर १४ र १३ ले गरेर सोमबार विधिवत रुपमा वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र धरान १३ नेत्र काफ्ले सहितको जनप्रतिनिधीहरुले धरानको पिण्डेश्वर मन्दिरमा शिवजट्टाको पवित्र जल ल्याएर चढाउने परम्पराको शुरुवात गरेको बताएका छन् ।
१४ नम्बरका वडाध्यक्ष भट्टराईका अनुसार धरानको शिवजट्टा पूर्वी नेपालको एक ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थान हो। यो धरान उपमहानगरपालिका भित्र पर्ने धार्मिक स्थल हो र विशेषगरी हिन्दू धर्मालम्बीहरूको लागि आस्थाको केन्द्रको रूपमा परिचित छ तर नजिकको तीर्थ स्थल हेला जस्तै भएको हुँदा शिवजट्टाको जल ल्याएर चढाउने परम्पराको सुरुवात गरिएको वडाध्यक्ष भट्टराईको भनाई रहेको छ ।
शिवजट्टा भगवान शिवसँग सम्बन्धित स्थान हो। यहाँ शिवको जटा (कपाल) खसेको जनविश्वास छ, जसले गर्दा यस ठाउँको नाम “शिवजट्टा“ रहन गएको हो।महाशिवरात्रि तथा अन्य हिन्दू पर्वहरूमा हजारौँ भक्तजन यहाँ दर्शन गर्न पुग्ने गर्छन्।
स्थानमा शिव मन्दिर, पवित्र जलस्रोत (कुन्डहरू) तथा अन्य धार्मिक संरचनाहरू छन्, जुन हिन्दू धर्मको पुरानो परम्परासँग जोडिएको मानिन्छ।हरेक वर्ष बोलबम सँगै सप्तकोशी नदीबाट जल ल्याएर चढाउने ऐतिहासिक परम्परा रही आएको सन्दर्भमा यसपालीदेखि भने शिव जट्टाको जल पनि थप भएको छ ।
शिवजट्टा धरानको हरियाली र शान्त वातावरणको बीच अवस्थित छ, जसले धार्मिक यात्रुहरू मात्र होइन, पर्यटकहरूलाई पनि आकर्षित गर्छ।यहाँको शान्त वातावरण, जलस्रोतहरू र जंगलले यो स्थानलाई एक आध्यात्मिक विश्रामस्थलको रूपमा विकसित गरेको छ।
धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले पर्यटकीय दृष्टिले अपार सम्भावना बोकेको यो स्थानको विकासमा सरकारी चासो नपुग्दा पर्यटकको ध्यान तान्न नसकेकोले पर्यटकीय क्षेत्रको दृष्टिलाई पनि मध्यनजर गरि यसको सुरुवातले उक्त स्थानको प्रवद्र्धन गर्ने बताएका छन् ।
शिवजट्टा नजिकैको नमस्ते झरना (साँगुरीगढी, धनकुटा) भन्दा कम आकर्षक छैन । तर पनि सडक पहुँच अभावका कारण सर्वसाधारणका लागि सहज गन्तव्य बन्न सकेको छैन ।धरान बजारबाट मात्र करिब ५ किलोमिटर टाढा भए पनि यहाँ पुग्न कठिन छ । गर्मी याममा वनभोज र पौडी खेल्न जानेहरूको लागि शिवजट्टा उपयुक्त स्थल हो ।
पर्यटन व्यवसायीहरूका अनुसार यति सम्भावना बोकेको क्षेत्र विकास नहुनु राज्यको बेवास्ता हो । तथापि वडा नं. ४ कार्यालयले अब शिवजट्टालाई धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरुयोजना अघि सारेको छ ।
स्थानीय पूजारी इन्द्रमान चाम्लिङ राईका अनुसार धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् शिवले सतीदेवीको शरीर बोकेर भौतारिँदा यही ठाउँमा स्नान गरेका थिए ।स्नान गर्दागर्दै शिवले आफ्ना जट्टा झारेर यो ठाउँमा राखेकाले शिवजट्टा नाम रहन गएको किंवदन्ती छ । यही शिवालयमा केही वर्षअघिसम्म भारतका जोगीहरू आएर शिवरात्रीको अवसरमा धुनी बाल्ने चलन थियो ।
प्राकृतिक सौन्दर्य, पवित्र धार्मिक महत्त्व र सुलभ दुरीका बाबजुद पनि प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको शिवजट्टा अब स्थानीय तहको सक्रियतामा पुनः जाग्ने अपेक्षा गरिएको छ ।
यदि उपमहानगरपालिकाले दीर्घकालीन गुरुयोजना बनाएर विकास गर्न सके, यो क्षेत्र कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने सम्भावना प्रबल छ ।