धरान/धरान–८ स्थित अरुणटोल सुकुम्बासी बस्तीका ४० वर्षीय रोशन राईको उपचारका लागि ६ हजार रुपैयाँ सहयोग जुटाइएको छ।
कलेजो फेर्नुपर्ने अवस्था आइसकेपछि आर्थिक अभावका कारण उपचार अवरुद्ध हुँदा श्रीमती शान्ति तामाङले गरेको मार्मिक गुहारले जनचासो र सहयोग आकर्षित गरेको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश उपाध्यक्ष तथा लेखापढी व्यवसायी तिर्थ दाहाल र उनकी श्रीमती कोशिला राई दाहालले ५ हजार रुपैयाँ, संगठनका सचिव महेश घिमिरे र सदस्य प्रेमप्रसाद पोखरेलले जनही ५ सय रुपैयाँ सहयोग गरेका छन्।
सहयोग अभियान मजदुर नेता भीमज्वाला राईद्वारा सार्वजनिक गरिएको ‘श्रीमतीको बिलौना’ शिर्षकको समाचारपछि सुरु भएको हो। "समाचार पढेपछि मन छोयो, तत्काल सहयोग गर्ने निर्णय गर्यौं," तिर्थ दाहालले भने।
बिहीबार भीमज्वाला राई, धरान–८ का वडा अध्यक्ष धनबहादुर राई लगायतको टोली पीडितको झुपडीमा पुगेर नगद सहयोग हस्तान्तरण गरेको थियो।
दाउरा बेचेर जीवन चलाइरहेका रोशन बैशाखदेखि जण्डिस र मृगौलाको पथरीले पीडित छन्।
चिकित्सकले कलेजो फेर्नुपर्ने बताउँदा झन्डै १५ लाख रुपैयाँ लाग्ने जानकारी दिइएको छ। तर उपचारको खर्च जुट्न नसक्दा उनी घरमै मृत्यु कुरेर बस्न बाध्य छन्।
“घरसमेत बेच्न सकिन्न, बालबच्चा पाल्नै सकिएको छैन, उपचार कसरी गरौँ?” भन्दै श्रीमती शान्ति तामाङ आँखा रसाउँदै भन्छिन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका भीमज्वाला राईले पीडित परिवारलाई थप सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
इच्छुक सहयोगदाताले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा सम्पर्क गरेर सहयोग गर्न सकिने उनले बताए।