उदयपुर/ उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा तरकारी बोकेको बोलेरो गाडीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ।
असार ३० गते अपरान्ह कटारीबाट सिराहाको मिर्चैया तर्फ जाँदै गरेको को.१ज १२७५ नम्बरको बोलेरो गाडीलाई चेकजाँचका क्रममा रोकेर जाँच गर्दा १२ वटा बोरामा लुकाइएको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
तरकारीको नाममा अवैध गाँजा लुकाएर तस्करी गर्न खोजिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय तेज राईलाई पक्राउ गरेको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय कटारीमा राखेर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
स्थानीयस्तरमा लागुऔषधको ओसारपसार बढ्दै गएकोप्रति प्रहरी सतर्क बन्दै गएको छ। यसअघि पनि तरकारी तथा फलफूलको नाममा लागुऔषध ओसारपसारका घटना दोहोरिइरहेकाले चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ।