धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसएस) को उपकुलपति नियुक्तिमा भइरहेको राजनीतिक हस्तक्षेप र अस्वस्थ प्रतिस्पर्धाका कारण धरानवासी चिन्तित भएका छन् ।
धरानस्थित यो प्रतिष्ठान स्वास्थ्य सेवा र शिक्षण संस्थाको अवधारणासहित २०५० सालमा स्थापना भएको थियो । सन् १९९३ मा स्थापना भई सन् १९९८ मा स्वास्थ्य विश्वविद्यालयको रुपमा परिणत भएको यो संस्था स्वशासित र स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो ।
स्थापना कालखण्डमा राजनीतिबाट टाढा रहेर अघि बढेको प्रतिष्ठान पछिल्लो समय भने राजनीतिक भागबण्डा र आर्थिक चलखेलको अखडामा परिणत हुँदै गएको छ । यही कारणले धरानका स्थानीयले उपकुलपति नियुक्तिमा स्वच्छ, पारदर्शी र योग्यता आधारित प्रक्रिया अपनाउनुपर्ने माग गर्दै आएका छन् ।
पिण्डेश्वर क्याम्पस धरान–१४ का क्याम्पस प्रमुख काशीनाथ पौडेलले प्रतिष्ठानमा राजनीतिक दलका आफन्त र आर्थिक चलखेलमार्फत पदाधिकारी नियुक्ति गर्ने प्रवृत्तिले यो संस्था दिनप्रतिदिन लथालिङ्ग बन्दै गएको बताए । यति ठूलो स्वास्थ्य संस्था धरानमै हुँदाहुँदै सामान्य उपचारका लागि समेत धरानबाहिर जानुपर्ने अवस्था आउनुमा पदाधिकारीहरूको गैरजिम्मेवारीपन रहेको उनको भनाइ छ ।
हाल उपकुलपतिको पद रिक्त रहेको छ । अहिले प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन् । नयाँ उपकुलपतिका लागि प्रा.डा. प्रहलाद कटुवाल, प्रा.डा. संगीता भण्डारी, प्रा.डा. विक्रम श्रेष्ठलगायत स्वास्थ्य मन्त्रालयका पूर्व सचिवहरूको नाम अगाडि आएको छ ।
तर, धरानवासीले प्रतिष्ठानको हित हुने योग्य र इमान्दार व्यक्तिलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
हाल प्रतिष्ठान दक्ष चिकित्सक उत्पादन गर्ने शैक्षिक केन्द्र मात्र नभई सम्पूर्ण दक्षिण एसियाकै प्रतिष्ठित संस्थाको रुपमा स्थापित भइसकेको छ । यहाँ एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, प्रमाणपत्र तह नर्सिङ, बीएमएलटी, बीएस्सी एमआईटी, एमडी, एमएस, एमडीएस, एमपीएच, डीएम/एमसीएच, फेलोसिप इन इमर्जेन्सी मेडिसिन लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपाल मात्र नभई भारतबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।
प्रतिष्ठान स्थापना गर्न २०४७ साल फागुन ३ गते नेपाल भ्रमणमा रहेका तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले प्रतिबद्धता जनाएका थिए । त्यसपछि नेपालका प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको भारत भ्रमणका क्रममा यो सहमति कार्यान्वयन भएको थियो ।
पछिल्ला वर्षहरूमा उपकुलपति तथा अन्य पदाधिकारी नियुक्तिमा राजनीतिक प्रभाव बढेकै कारण चिकित्सक, शिक्षक तथा कर्मचारीहरू समेत आन्दोलनमा उत्रिन बाध्य भएका छन् । यसैले प्रतिष्ठानको समग्र सुधारका लागि राजनीतिक प्रभावमुक्त वातावरण निर्माण गर्नुपर्नेमा धरानवासीहरूले जोड दिएका छन् ।
यहि विषयमा सुधार नेपालका अध्यक्ष निनाचन्द राईको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा समाजसेवी वीरेन्द्र थापा, भाषाविद् प्रा.डा. टंक न्यौपानेलगायतले प्रतिष्ठानको नेतृत्वमा योग्य, इमान्दार र प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत व्यक्तित्व चयन गर्नुपर्ने धारणा राखेका थिए ।