धरान सहित २१ स्थान बाढी–पहिरोको उच्च जोखिममा प्रहरीको उच्च तयारी, जोखिम क्षेत्रमा कमाण्ड पोस्ट स्थापना

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसार सुनसरीका २१ स्थानहरु बाढी र पहिरोको उच्च जोखिममा परेको छ ।

सुनसरी जिल्लाभरि बाढी, डुबान र पहिरोको उच्च जोखिममा परेका क्षेत्रहरूको सूची सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको जोखिम मूल्याङ्कनअनुसार सुनसरीका २१ स्थानलाई उच्च बिपद् सम्भावित क्षेत्रको रूपमा सूचीकृत गरिएको हो ।

धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० मा पर्ने जामुने, फिनामरी, पानमारी र विष्णुपादुका क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै, धरानकै वडा नं. ४, ५, ८, ९, ११, १२, १३, १५ र १६ का पृथ्वी चोक, सर्दु खोला, फुस्रे, नगरकोट, रेल्वे क्षेत्र र स्टेडियम आसपासका क्षेत्रहरू बाढीको उच्च जोखिममा रहेका छन् ।

बराहक्षेत्र नगरपालिकाको वडा नं. १ अन्तर्गत सूर्यकुण्डलाई पहिरोको जोखिमयुक्त क्षेत्रको रूपमा चिनिएको छ भने त्यही नगरपालिका अन्तर्गत वडा नं. १, २, ६, ७, ८, ९, १० र ११ का चतरा, तेरआरडी, सिसौली, सालबन्दी, राजाबास, प्रकाशपुर र मधुवन क्षेत्र बाढी तथा डुबानको उच्च जोखिममा परेका छन् ।

इटहरी उपमहानगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १०, ११, १२, १३, १५, १९ र २० का गैरिगाउँ, सिमरबना, हरियाली टोल, ट्याङ्ग्रा खोला, डुम बस्ती, सूर्य टोल र सेरा खोलातिर पनि बाढी र डुबानको उच्च सम्भावना देखिएको छ ।

दुहबी नगरपालिकाका १० वटा वडामा पर्ने प्रस्टोकी, ट्राफिक चोक, मालहट्टी, भलुवा, सोनपुर, फुटानी चोक, तनमुना, चाहबेला र पूर्व कुशाहा क्षेत्र पनि उच्च जोखिम सूचीमा छन् । इनरुवा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ७, ८, ९ र १० का केही क्षेत्रलाई पनि बाढीरडुबानको संवेदनशील क्षेत्र मानिएको छ ।

रामधुनी नगरपालिका र गढी गाउँपालिकाका सबै वडाहरूलाई जोखिमयुक्त क्षेत्रको सूचीमा राखिएको छ । बर्जू गाउँपालिकाका वडा नं.१, २, ३, ४ र ५ मा ट्याङ्ग्रा खोला, धमाना खोला र बुढी खोलाले बाढी डुबानको सम्भावना बढाएकाले त्यहाँ अति प्रभावित क्षेत्रको रूपमा दर्ज गरिएको छ ।

यसैगरी, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र देवांगञ्ज गाउँपालिकाका केही वडाहरू पनि बाढी र पहिरोको जोखिममा रहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बाढी व्यवस्थापन तथा उद्धार संयन्त्रलाई सक्रिय बनाइएको छ। राहत सामग्री भण्डारण, सुरक्षित स्थानहरूको पहिचान, प्रारम्भिक उद्धार टोलीहरूको परिचालन, सूचना सम्प्रेषण संयन्त्रको सुदृढीकरणलगायत तयारीलाई प्राथमिकता दिइएको छ।

स्थानीय तहहरूसँगको समन्वयमा सतर्कता अपनाउन र जोखिमयुक्त बस्तीका बासिन्दालाई सचेत गराउन थालिएको जनाइएको छ। विपद्पछिको पुनः स्थापना तथा राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउने गृहकार्य पनि सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विपद्पछि हुने क्षतिलाई न्यून पार्न सुनसरीमा ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा बनेको यो विशेष उद्धार टोलीले आपत्कालीन अवस्थामा तत्कालै सक्रिय भई उद्धार तथा राहत कार्य गर्नेछ।

प्रजिअ मिश्रका अनुसार उक्त टिममा नेपाली सेनाबाट १०३ जना, शसस्त्र प्रहरी बलबाट विशेष तालिम प्राप्त १९ जना, र नेपाल प्रहरीका तर्फबाट प्रहरी निरीक्षकको कमाण्डमा २०–२० जनाको संलग्नता रहनेछ।

’घटना भएको १० मिनेटभित्र उद्धार टोली सो स्थानमा पुग्ने व्यवस्था मिलाइएको छ; संयोजकसमेत रहेका मिश्रले जानकारी दिए।साथै, विपद्को उच्च जोखिममा रहेको बराहक्षेत्र नगरपालिका लगायत पहाडी भेगमा पहिरो तथा बाढीजन्य घटनालाई ध्यानमा राख्दै आवश्यक ‘हेभी इक्युपमेन्ट’ सामग्री पहिल्यै नै विभिन्न स्थानहरूमा पठाइसकिएको मिश्रले बताए।

टिमको तयारीबाट विपद्को जोखिम न्यूनीकरण र द्रुत उद्धार सम्भव हुने अपेक्षा गरिएको छ।
विपद्पछिको राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सुनसरीको रामधुनी नगरपालिकाको आयोजनामा जिल्लास्तरीय एकीकृत विपद् प्रतिक्रिया अभ्यास सम्पन्न भएको छ। रासवालमा सम्पन्न सो अभ्यास कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकृतहरू लगायत सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले विपद् व्यवस्थापनमा समन्वय र तत्परता आवश्यक रहेको बताउँदै, “विपद्पछि राहत कार्य प्रभावकारी बनाउन जिल्लाभरका पालिकाका प्रमुखहरूसँग आवश्यक समन्वय गरिसकिएको छ,” भने।

प्रजिअ मिश्रले हालको मौसम र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सबै सुरक्षा निकायका प्रमुखहरूलाई जिल्लाभित्रै रहन निर्देशन दिइसकेको जानकारी पनि दिए। विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन तयारीलाई सुदृढ बनाउने उद्देश्यले आयोजित अभ्यासले जिल्लास्तरमा विपद्पछिको प्रतिक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले “जहाँ विपद्, त्यहाँ कमाण्ड पोस्ट” भन्ने नाराका साथ प्रहरी अगाडि बढिरहेको बताए ।

उनका अनुसार सम्भावित विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार र सुरक्षाका लागि जिल्ला तहमा प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली, इलाका तहमा १५ जनाको टोली र प्रहरी चौकी तहमा प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली परिचालन गरिएको छ ।

जोखिमयुक्त क्षेत्रहरूमै एक–एक जना फोकल पर्सन तोकिएको र उनीहरूलाई आवश्यक निर्देशन दिइसकिएको एसपी तिम्सिनाले जानकारी दिए । उनले विपद्को बेला सबैभन्दा पहिला प्रहरी नै पुग्ने भएकाले आफूसमेत पूर्ण तयारी अवस्थामा रहेको बताए ।

सशस्त्र प्रहरी बल सुनसरीमा प्रमुख एसपी निर्मलकुमार थापाका अनुसार विपद्पश्चात् उद्धार र राहत कार्यमा तालिमप्राप्त जनशक्तिलाई तत्काल परिचालन गर्ने तयारी गरिएको छ । उनका अनुसार प्रत्येक गणमा डिएसपीको कमाण्डमा ३० जना उद्धार दक्ष सशस्त्र प्रहरी परिचालन गरिनेछ ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved