इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभन्दा बढीको चाँदी र सुनजस्तो देखिने पहेँलो धातु इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीले बरामद गरेको छ।
आइतबार राति करिब १२ः३० बजे सूर्योदय नगरपालिका–२ स्थित चारमाईल क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले दुई भारतीय नागरिकको झोलामा शङ्कास्पद वस्तु देखेपछि चेकजाँच गर्दा धातु फेला परेको हो।
सशस्त्र प्रहरी बल, पशुपतिनगरका अनुसार भारतको हिमाचल प्रदेश, कुल्लु परगनुका २८ वर्षीय अभिनाश बोध र ३५ वर्षीय रवि कुमार तस्करीको प्रयासमा संलग्न थिए।
उनीहरूको साथबाट १७ हजार ४ सय ग्राम चाँदी र पहेँलो धातुका गरगहना बरामद गरिएको हो।
बरामद गरिएको धातुको प्रारम्भिक मूल्याङ्कनअनुसार बजार मूल्य करीब ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ रहेको बताइएको छ।
तस्करी प्रयोजनका लागि भारत लैजान लागिएको उक्त धातु र पक्राउ परेका दुबै व्यक्तिलाई पशुपतिनगरस्थित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको छ।