२३८ वर्षे राजतन्त्रको कालो युगलाई समाप्त गर्दै नेपालको संविधान सभाले २०६५ जेठ १५ गते संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको घोषणा गरेको हो ।
श्री ५ को सरकार हटाएर नेपाल सरकार घोषणा, धर्मनिरपेक्ष देशको घोषणा, शाही नेपाली सेनाको नाम परिवर्तन गरि नेपाली सेना, राजाका कामहरुको प्रतिनिधिसभा र अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था र जनता सार्वभौमसत्ता सम्पन्न भएको घोषणा त्यसै दिन गरिएको हो ।
वितेका डेढदशकमा धेरै परिवर्तन भइसक्यो । लोभी ज्ञानेन्द्र शाहलाई फेरी एकपटक गद्धी मोह जाग्यो, श्रीपेच पहिरिने उत्कण्ठा पलाएर आयो । राजावादीहरुलाई सार्वभौम जनता भन्दा दास भएर रैती हुने चाह पलायो ।
साझा राष्ट्र होइन हिन्दुहरुलाई काखीच्याप्ने देश बनाउने उत्कट इच्छा उर्लिएर आयो ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिन भिडयो सन्देश मार्फत ज्ञानेन्द्र शाहले सबैलाई आह्वान गरे, अव समय आयो राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निम्ति हामीलाई सहयोग गर्न सबै देशबासीलाई अनुरोध गर्दछौँ ।
जसो ज्ञानेन्द्र ज्ञानेन्द्र बोले त्यसै ज्ञानेन्द्रवादीहरुले गरे । चैत १५ गते असम्भव जोडबल गरे । हत्या, हिंसा, लुटपाट, आगजनी र तोडफोड साम्राज्य खडा गरे । हिन्दु राज्य सहितको राजतन्त्र फकाइदिने भारतीय शक्तिको आशमा गर्नुनगर्नु सबै गरे । क्षुब्ध ज्ञानेन्द्रले बेलायती राजा चाल्र्स प्रथमको इतिहासबाट पाठ सिक्नु पर्ने हो ।
सिक्नका लागि त चेतना चाहिन्छ, चेतना मरिसकेका उनलाई इतिहास भन्दा राजा हुने भविष्य बारे लोभ छ । राजावादी हुँ भन्नेहरुको गतिविधिले ज्ञानेन्द्रलाई गद्धीमा होइन रद्धीमा पुर्याउँदै छ भन्ने बुझ्दा बुझाउँदा बेसैहुन्छ ।
राजाको टाउको गिंडिएकोत्यो इतिहास:
सन् १२१५ मा बेलायती जनता र राजाबिचबीच सम्झौता भयो त्यो घोषणापत्रलाई म्याग्नाकार्टाको नामले दुनियाँले इतिहासमा पढेकाछन् । म्याग्नाकार्टाले भनेको छ राजा कानुनको मातहत रहनुपर्छ, राजा स्वेच्छाचारी हुन मिल्दैन ।
जेम्स प्रथम राजा हुँदा सम्म त्यसको पालना भयो सन् १६२५ मा उनको देहान्त भइसकेपछि उनका छोरा चाल्र्स प्रथम राजा । राजा त भए उनले राजकाज भन्दा धेरै रजगज गर्नथाले ।
निरङ्कुश र स्वेच्छाचारी कदम चाल्दै सन् १६२९ मा संसद भंग गरे । संसदको सबै अधिकार हातमा लिए । शक्तिको आडमा मनमौजी गरे, सम्पूर्ण शासनसत्ताको सर्वाधिकार आफूमा राख्दै जनतासंगको सम्झौता भङ्ग गरे । म्याग्नाकार्टाको वैधानिकतालाई अस्विकार गर्दै संसदसंग चर्को द्वन्द्वको सुत्रपात गरे ।
आफुलाई दैविक शक्ति र अधिकार सम्पन्न राजा ठान्ने चाल्र्स प्रथमको मनोमानीले सन् १६४० सम्म अत्याचारको सिमा नाघिसकेको थियो । युरोप युद्धमा थियो क्याथोलिक र प्रोटेस्टेन्टहरुबीच युद्ध चलिरहेको थियो ।
युद्धको असर बेलायतमा पनि थियो । प्रोटेस्टेन्ट प्रभावित बेलायती समाजमा क्याथोलिक महिलासँग विवाह गरेका चाल्र्स प्रथमले तिनै क्याथोलिक श्रीमतीलाई रानी बनाएपछि बेलायती समाजको ठुलो समुह राजाको विरुद्धमा थए । त्यहि समय बेलायत र स्कटल्याण्डबिच युद्ध जारी थियो । युद्धको नेतृत्व राजा थिए ।
युद्धमा स्कटल्याण्ड हावीहुँदै गइरहेको थियो ।
संसदले ओलिबर क्रमबेलको अगुवाईमा सेनाको दस्ता गठन गर्यो । क्रमबेल नेतृत्वको आधुनिक सेनाले विजयतर्फ डो¥याइहेको युद्धमा राजा अप्रत्यक्ष बाधक थिए ।
राजा र संसदबीचको द्धन्द्धको फाइदा लिइरहेका स्कटिस सेनालेः राजा चाल्र्स प्रथमलाई बन्दी बनायो । ओलिबर क्रमबेलको सेनाले स्कटिस सेनासँग सम्झौता गरेर राजालाई फिर्ता ल्याएपछि राजा विरुद्ध देशद्रोहमा मुद्दा चलायो ।
यो अभियोग चल्दै गर्दा समेत संसदलाई अधिकार फिर्ता गर्न राजा तयार भएनन् । आफ्नो स्वेच्छाचारी कदम सच्याउन र शक्ति हस्तान्तरण गर्न मानेनन् ।
अन्ततः सन् १६४९ जनवरी ३० मा उनीविरुद्ध मुद्दाको सुनुवाइ भयो । उनलाई मृत्युदण्डको सजाय दिइयो । जनवरीको जाडोमा चाल्र्स प्रथम लुगलुग काप्दै मृत्युदण्डका लागि अघि बढ्दैगर्दा बन्चरोले उनको घाँटी छिनालियो ।
उनको टाउको र शरीर दुइटुक्रा भयो । लण्डनको बैंकेटिङ हाउस बाहिरको सडकमा बेलायतका शक्तिशाली राजाको टाउको एकातिर र शरीर अर्कोतिर भयो । विभत्स त्यो घटनालाई बेलायती जनता र संसारले हेरे ।
जनताको मातहतमा नरहने राजालाई इतिहासले निर्मम सजाय दियो । सत्तामा फर्कन खोज्ने राजतन्त्रको अन्त्यको इतिहास निकै निर्मम, क्रुर, हिंस्रक र दर्दनाक छ भन्ने इतिहासले संसारलाई पाठ सिकाएको छ ।
ज्ञानेन्द्र शाह पनि राजा हुने, मनोमानी गर्ने सत्ता चलाउने मनसुवाकासाथ हुनैनसक्ने जोडबल गरिरहेकाछन् २०६२÷०६३ को जनक्रान्तिको बलमा निर्माण गरिएको नेपाली म्याग्नाकार्टा (संविधान सभाले गरेको घोषणा) भङ्ग गर्न खोजिरहेकाछन् ।
ज्ञानेन्द्र शाहले चाल्र्स प्रथमको त्यो इतिहास थाहा नहुने कुरै भएन । ज्ञानेन्द्र शाहको पनि गिंड्नुपर्छ भन्न खोजिएको होइन । कि इतिहासबाट पाठ सिक्नुपर्छ कि इतिहासको पुनरावृतिबाट दण्डित हुनपर्छ ।
इतिहास दुई पटक दोहोरिने गर्छ । पहिलो पटक त्रासदीको रूपमा र दोस्रो पटक प्रहसनका रूपमा ।
पहिलो पटक त्रासदीको रुपमा इतिहास:
वंश विनासको त्रासदपूर्ण बाटोबाट राजा बनेका ज्ञानेन्द्र शाहलाई जनताले क्रान्तिको बलमा ठेगान लगाईदिए । जन्मसिद्ध श्रेष्ठ हुने राजतन्त्रलाई सदाका लागि अन्त्य गर्दै गणतन्त्र घोषणा गरे ।
रगतसंग साटेको परिवर्तन संंघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा संविधान, कानुन, संरचना र जनताका जीवनशैली रुपान्तरण भइसकेको छ । गणतन्त्रको आलोकमा देश नयाँ युगमा प्रवेश गरिसकेको छ । अब यसलाई स्विकार गरेर सहज मृत्युको बाटो बनाउनु ज्ञानेन्द्र शाहका लागि उत्तम उपाय हो ।
दोस्रो पटक प्रहसनको रुपमा इतिहास:
फागुन ७ गतेको भिडियो सन्देश र चैत १५ गते सडकको गणतन्त्र विरोधी हर्कत प्रहसनको रुपमा इतिहासको पुनरावृति हो । फेरी राजा हुने र स्वइच्छाचारी शासक बन्ने कहिल्यै पुरा नहुने सपनाको आवरणमा भएका हिंसात्मक घटना अक्षम्य प्रहसन हो । इतिहासको दोस्रो पुनरागमन अत्यन्त निर्मम र क्रुर हुनेगरेको तथ्य ज्ञानेन्द्र शाहले बुझेनन् ।
जस्तोकी बेलायती जनता आफैले बनाएका राजा चाल्र्स प्रथमको प्रहसन रुचाएनन् र टाउको गिँडिदिए । त्यसपछि ३७६ वर्षदेखि बेलायतले प्रहसन सामना गर्नु परेकोछैन ग्रेट ब्रिटेनका रुपमा संसार हाँकिरहेको छ ।
गणतन्त्रको विकल्प गणतन्त्र नै हो, राजतन्त्र होइन । नेताको विकल्प नेता नै हो, राजा होइन तसर्थ ज्ञानेन्द्रको सत्तामोहको लालसाले जन्माएको हिंसा उदण्डता र देशद्रोही प्रहसन इतिहासमा अन्तिम प्रहसन बनोस् । घामड ज्ञानेन्द्र शाहको हविगत राजा भएकै बेलादेखि देखिएको हो । त्योबेलापनि सल्लाहकारहरुकै कारण उनि टाइटानिक भए ।
हुन त बुद्धि नै नभएपछि अरुको भर पर्नै पर्यो । यस पटक कसको बुद्धि र सल्लाहमा ज्ञानेन्द्र शाह चाल्र्स प्रथम हुन अभिशप्तछन् ? । अरुलेले धकेलिरहेकाछन् कि आफै शूली चढ्न खोजिरहेकाछन् ।
सरकारले विगतको कमजोरी सच्याउदै ज्ञानेन्द्र शाहलाई कानुनी कारबाही प्रकृया थाल्नुपर्छ । पूर्व राजाका नाममा उनले लिएका सम्पूर्ण सेवा सुविधाहरु खारेज गरिनुपर्दछ ।
विदेश तथा स्वदेशमै हुने अनावश्यक भ्रमणलाई नियमन गनुपर्छ । सार्वजनिक अभिव्यक्तिलाई नियमन गर्नुपर्छ । जनताका आधारभूत आवश्यक्ता र समृद्धिको कामलाई गुनासो आउन नदिनेगरी निरुपण गर्नुपर्छ ।
राई, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य हुन् ।