चतरा/ बराहक्षेत्र-५ कालाबन्जरमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जित दर्ता गर्दै नेपाल पुलिस फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली भारत सिलिगुडीको कन्चनजङ्घा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै पुलिसले शनिबार हुने फाइनल खेलमा सुनसरीको द योङ ब्रदर्स क्लबसँग भिडन्त पक्का गरेको छ ।
जितका लागि खेलको पहिलो हाफको दसौं मिनेटमा कप्तान हेम तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
लगत्तै खेलको १७औं मिनेटमा जर्सी नम्बर ८ लगाएर मैदानमा उत्रिएका विकास बिकेले निर्णायक गोल गरे ।
पुलिसको पोलमा कन्चनजङ्घाले गरेको कयौं प्रहार निष्फल हुन पुगे । प्रतिस्पर्धात्मक खेलमा स्कोर गर्न चुकेको कन्चनजङ्घा खेलमा फर्कन सकेन ।
पुलिसका तर्फबाट जर्सी नम्बर १८ का खेलाडी विवेक पाण्डे म्यान अफ द म्याच घोषित भए ।
उनलाई बराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत विरेन्द्र यादव र इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख, प्रहरी निरीक्षक विकास राईले नगद ५ हजार रुपैयाँसहित ट्रफी हस्तान्तरण गरे ।
शनिबार दिउँसो २:३० बजेदेखि फाइनल खेल हुने आयोजकले जनाएको छ । दर्शकहरुका लागि खेल अवलोकनको टिकट दर १ सय रुपैयाँ राखिएको आयोजक न्यु स्टार क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
प्रत्येक खेलका म्यान अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँँसहित मेडल प्राप्त गर्नेछन् ।