धरान/ धरानका चारवटा त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघले दुई क्याम्पसमा जित हात पारेको छ भने एक क्याम्पसमा स्वतन्त्र प्यानल विजयी भएको छ।
पिण्डेश्वर विद्यापीठमा भने सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ।
धरानको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी भएको छ। सभापतिमा नेविसंघका प्रशान राई १,२९१ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका युवराज राईले ६०० मत प्राप्त गरे।
सचिवमा अनेरास्ववियुका पवन बस्नेत १,१९३ मतसहित विजयी भए भने कोषाध्यक्षमा नेविसंघका आलोक लिम्बू १,३०४ मत ल्याएर निर्वाचित भए।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि नेविसंघले नेतृत्व लिएको छ। सभापतिमा नेविसंघका सागर बस्याल ६६८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका गणपति झाले ४४६ मत पाए।
सचिवमा अनेरास्ववियुका प्रमिशा न्यौपाने ५८० मतसहित निर्वाचित भए भने कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईं ६७४ मतसहित विजयी भए।
केन्द्रीय प्रविधि क्याम्पसमा क्रान्तिकारी समर्थित स्वतन्त्र प्यानलले जित हासिल गरेको छ।
सभापतिमा स्वतन्त्र प्यानलका पेशलराज कार्की ४१३ मतसहित विजयी भए भने गठबन्धनका अनिरुद्ध श्रेष्ठले ३६४ मत पाए।
सचिवमा विश्वेवर प्रसाद बढु ४२७ मत ल्याएर निर्वाचित भए भने कोषाध्यक्षमा क्रान्तिकारीका नामसाङ्ग राई ४०८ मत ल्याएर विजयी भए।
धरानको पिण्डेश्वर विद्यापीठमा भने कुनै प्रतिस्पर्धा नै हुन सकेन।
उम्मेदवारी मनोनयन प्रक्रियामा सबै पदमा एकरएक उम्मेदवारी परेपछि सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। सभापतिमा अनेरास्ववियुका सुधाकर पोखरेल निर्विरोध चयन भएका छन्।
धरानका क्याम्पसहरूमा सम्पन्न यस निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनले दुई क्याम्पसमा जित हासिल गर्दै वर्चस्व जमाएको छ भने एक क्याम्पसमा स्वतन्त्र प्यानल विजयी भएको छ।
पिण्डेश्वरमा भने कुनै प्रतिस्पर्धा नभएकाले नेतृत्व निर्विरोध चयन भएको हो।