काठमाडौं/ काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका–१ का कुसान लामा सुन तस्करीमा संलग्न रहँदै आएका थिए।
उनी २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेका थिए र पाँच वर्ष जेल सजाय भोगेपछि २०७८ सालमा छुटेका थिए। तर, उनी पुनः सुन तस्करीमा सक्रिय भएको पाइएको छ।
गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उनलाई २० करोडभन्दा बढी रकमसहित पक्राउ गरेको हो।
पक्राउ परेका लामासँग नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न मुलुकका मुद्राहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त रकम टोखा क्षेत्रमै रहेको ना १ ख १६५२ नम्बरको ट्रकबाट बरामद गरिएको थियो।
प्रहरीका अनुसार लामा पुनः संगठित आपराधिक गिरोहमा संलग्न रहेको आशंका गरिएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।