भोजपुर/ पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आय आर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ ।
यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले रु. ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरिरहेको उनको भनाइ छ ।
किसानहरुलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने बताए ।
“यहाँका किसानलाई उन्नत जातका गाई वितरण गरेका छौँ” प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने,“पहिलो चरणमा तीन वटा वडामा ७५ वटा गाई वितरण गर्ने लक्ष्य छ । महिला उद्यमीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”
मुख्य रुपमा पशुपालनको लागि उपयुक्त रहेको वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभञ्याङ र वडा नं ३ च्याङ्गेका किसानलाई गाई वितरण गरिएको हो ।
गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्षल किरण राईले बताए । गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातका गाई वितरण गरिएको उहाँको भनाइ छ ।
विगतका वर्षहरुमा किसानलाई उन्नत जातको भैँसी वितरण कार्यक्रमसमेत सञ्चालन गरिएको अध्यक्ष राईले जानकारी दिए ।
“किसानलाई आर्थिक रुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मानिर्भर बनाउने लक्ष्यले उन्नत जातका गाई वितरण गरेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“यस अघि हामीले किसानलाई उन्नत जातको भैंसी दिएका थियौँ ।
त्यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातका गाई वितरण गरेका छौँ । अहिले किसानले उत्पादन गरेको दुध सदरमुकामसम्म पुग्न थालेको अवस्था छ ।”
गाउँपालिकाले सामुहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष राईले बताउनुभयो ।
भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।“हामीले किसानलाई आयआर्जनसँग जोड्ने कार्यक्रममा ध्यान दिएका छौँ”अध्यक्ष राईले भने,“पोषनसँगै किसानलाई रोजगारमूखी बनाउने लक्ष्यका साथ अघि बढेका छौँ ।