संस्मरण:हाईस्कुलको आन्दोलन, मेरो घरको  झ्याल र सुन्दरमणिको एकतर्फी प्रेम

  • पुस ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विद्यार्थी जीवनलाई सुनौलो जीवन अर्थात् ‘गोल्डेन लाइफ’ भन्छन् । विद्यालयको कक्षा कोठा भनेको संसारलाई चिहाउने ज्ञानको सुन्दर स्पेस हो । सुन्दर भविष्य र मिठो विपनाको साँचो बनाउने सानो, स्वप्नील र जादुमयी अभ्यास कोठा पनि हो ।

ओफ्रा वीन्फ्रीका अनुसार ‘स्वतन्त्रताको लागि पासपोर्ट हो ।’ तीन दशकअघि धरानको सरकारी स्कुलको त्यही स्वप्नील  झ्यालको वरपर झुम्मिने हामी एसएलसी (एसईई) सम्म पढेका ५६ विद्यार्थीहरू थियौँ ।

हाईस्कुल अमूल्य सम्झनाहरूको एल्बम हो । अहिले आउने सम्झनाका ती तस्बिरहरू जति पल्टाएर हेर्‍यो, त्यति जीवनभर रङ्गीन सम्झना भएर अविरल बगिरहने कहानी हो ।

हाईस्कुल जीवनको लय समात्ने मियो पनि हो । भविष्यलाई सपनाहरूसँग जोड्न आफैलाई विश्वास गर्न सिकाउने र बाटो देखाउने उज्यालो दियो पनि हो । हाईस्कुल सिक्ने ठाउँ हो तर गल्तीहरूलाई सम्हाल्दै, फेरि आफैले चाहे जस्तो बनाउने, जान्नेहरू यसलाई गिलो माटोको संज्ञा दिन्छन् ।

हाईस्कुल सत्र–अठार वर्षे उमेरको अग्र्यानिक चकचकले आफैभित्र रहेको ‘म’ लाई खोज्दै गरेको जादुमयी संसार पनि रहेछ । हाईस्कुल मानौँ, यौटै उमेरका समकालीनहरूको आपसमा मौलाउँदै गरेको चेतनाको, प्रथम विश्वासको अनि भरोसाको अद्भुत संस्था पनि हो । जीवनभर कहिल्यै नमेटिने रहरलाग्दो सम्झनाका सुन्दर एल्बमहरूको चाङ हो । ‘गोल्डेन लाइफ’ कसैले त्यसै कहाँ भनेका होलान् †

हाईस्कुलको अन्तिम दिन

धरानको निक्कै पुरानो चोक, धरान–११ स्थित मङ्गलबारे चोकबाट पश्चिम–दक्षिणतिर रत्नचोक, पूर्वतिर बुद्धचोक अनि उत्तरतिर कल्याण चोकको चौघेराबिचमा श्री पञ्चायत   उर्फ ज्ञानोदय माध्यमिक विद्यालय अवस्थित छ ।

मजस्तो निम्न आय भएका अभिभावकको छोराछोरीलाई पढाउन पायक पर्ने ठाउँमा रहेको हामी गरिबहरूको सपनाको ठुलो हाईस्कुल ।

म त्यही स्कुलको ३१ वर्षअघि विक्रम संवत् २०४९ को एसएलसी ब्याचको सदस्य हुँ । ४९ सालको एसएलसी ब्याचका साथीहरू अहिले पनि मेरो हृदयका नजिक छन् । हाम्रा धेरै चकचक अनि आपसी प्रेमले गर्दा नजिक छौँ ।

यति नजिक कि, हाम्रो क्लासमेटका दाजुभाइ त सामान्य कुरा हो, आमाबुबा, काकाकाकी तीनपुस्ते फेहरिस्तको जानकारी अहिले पनि छ ।
३१ वर्षअघि एसएलसी टेस्ट परीक्षा सकिएको दिन अझ भनौँ, हाईस्कुलको अन्तिम दिन थियो । बिहान ७ बजे सुरु भएर तीन घण्टाको परीक्षा सकिएपछि टाउकोबाट पाठ्यपुस्तकको गह्रुङ्गो भारी बिसाऊँजस्तो भएको थियो ।

स्कुल छाडेपछि साथीहरूको प्रेम, स्नेह, आत्मीयता अनि त्यो नोकझोँक कहिले फेरि पाइएला भन्ने लामो शून्यताले मन आत्तिएको पनि पक्कै थियो । अन्तिम दिनको टेस्ट परीक्षा सकेर क्लासकी मनिटर सुदेस्नाले फिल्म हेर्ने योजना बनाई । उसको भनाइ थियो – ‘अब फेरि कहिले भेटिने हो, थाहा छैन । फेरि, भेट्दा एक्लै नभेटिएला, परिवार अनि बालबच्चाको साथमा मात्रै भेटिएला ।

त्यही भएर जाऊँ फिल्म हेर्न ।’ त्यस दिन सम्झनाका लागि १२ बजेको शो हेर्ने योजना बन्यो । क्लासका साथीहरू सविता, सुदेस्ना, नीला अनि सुन्दरमणिको आर्थिक संयोजनमा हामी तल्लो सिनेमा हल (गणेश टाकिज) को फस्र्ट क्लास स्तरको सिटको लहरमा ५५ जना विद्यार्थी स्कुल ड्रेसमै पुगेका थियौँ ।

५६ जनामध्ये एकजना ढिला आइपुगेको डिल्लीसेर राई भने बाल्कोनीको टिकट काटेर हामी बसेको एक तलामाथि पुगेछ । तल आउने बाटो भेटेनछ । तल साथीहरूको लहर देखेपछि चुपचाप एक्लै हेरेछ ।

हामीले चिनजान गरेको चार दशक नाघिसक्यो । एसएलसीअघिको त्यो बन्डिङ आज पनि उस्तै छ । हाम्रो कुराकानी ग्रुप म्यासेन्जरमा हुने गर्छ । गु्रप च्याटमा पनि तीसजना जति छौँ । बेला–बेलामा प्रत्यक्ष रमाइलो भेला हुने गर्छ ।

मर्दापर्दा पनि हामी एकअर्कालाई साथ दिन्छौँ । हाम्रा ती स्वर्णिम दिनहरू सम्झन्छौँ, हाँस्छौँ । चिया, कफी अनि सोमरसका चुस्कीहरूमा एकअर्काको प्रगति, खुसी, अझ भनौँ दुःखहरू साट्छौँ ।

विक्रम संवत् २०४९ ब्याचका स्कुले साथीहरू ३२ वर्षपछि २०२४ अगस्ट २९ मा धरानमा फेरि भेट्यौँ । पूरै ५६ जना एकैपटक भेट्न त मुश्किल छ । तीमध्ये धरानमा रहेका १७ जना भेला भयौँ । हाम्रा सुख–दुःखका, आशा र भरोसाका अनि धेरै त सम्झनाका कुराहरू दोहोरिए । भेलामा आउन चाहेका तर टाढा परदेशमा भएका केही साथीहरूलाई सम्झियौँ ।

कहिल्यै नफर्कने गरी गएका सुन्दरमणिको बारेमा हामीले चर्चा गर्‍यौँ । खासमा हामी क्लासमेट सुन्दरमणिबाहेक अब ५५ जना मात्रै बाँकी छौँ ।

क्रान्तिकारी क्लासमेट

२०४७ साल, गर्मीको महिना थियो । धरान–११ को पञ्चायत स्कुलमा विद्यार्थी आन्दोलन थियो । कक्षा १० का विद्यार्थीहरूले यसको नेतृत्व गरेका थिए । १० कक्षामा करिब ५६ विद्यार्थी थिए । त्यस कक्षाको प्रथम विद्यार्थी भएको हुँदा नजानिदो तरिकाले नेतृत्व मेरै हातमा आइपुगेको थियो ।

पञ्चायत माध्यमिक विद्यालयको आम्दानी हिनामिना भएको विद्यार्थी र अभिभावकहरूको ठहर थियो । हिसाबकिताब देखाउन हामी विद्यार्थी र अभिभावकको माग थियो । स्कुलको अवस्था पनि कमजोर बन्दै गइरहेको थियो ।

पञ्चायत प्रस्तावित माविमा कक्षा ९ देखि नै हामी स्कुल प्रशासनसँग असहमत भएर आन्दोलित भएका थियौँ । कक्षा नियमित थिएन । इङ्लिस र गणितका धेरै पाठहरू छुटेका थिए । कमजोर विद्यार्थीका लागि कोचिङको व्यवस्था थिएन ।

स्कुलमा डेस्क–बेन्चको अभाव थियो । शिक्षकहरू धेरै कम थिए । भत्किएको अनि भरिएको पुरानो चर्पी मात्रै थियो । गर्मीको बेला त एक कोश टाढाबाट गन्हाउँथ्यो । महिला र पुरुषको शौचायल यौटै थियो । खानेपानीको व्यवस्थापन राम्रो थिएन ।

लाइब्रेरी, प्रयोगशाला, खेलकुद सामग्री नाम मात्रका थिए । अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक कक्षाहरू छँदै थिएन । अन्य स्कुलका विद्यार्थीहरूसँग दाँज्दा हामी नजान्ने मात्रै हैन, बिल्कुन नजान्ने थियौँ ।

अनि आन्दोलन त हुने नै भयो । हाम्रो माग रकम हिनामिना र स्तरीय पठनपाठनको व्यवस्थामा नै केन्द्रित थियो ।

विद्रोही सुन्दरमणि

त्यति बेला पञ्चायत स्कुलमा सावित्री श्रेष्ठ प्रधानाध्यापिका थिइन् । वास्तवमा पञ्चायतको पतनपछि नाम परिवर्तन भएर ‘ज्ञानोदय माध्यमिक विद्यालय’ भए पनि बोलीचालीमा पञ्चायत नै थियो । बुद्धचोककी सावित्री श्रेष्ठ निक्कै कडा थिइन् तर हामी उनीभन्दा कडा नै निस्कियौँ ।

कक्षा १० को आप्mनै कक्षा बहिष्कार, पहिलो विद्रोह हेडमिसविरुद्ध थियो । कक्षा बहिष्कार गरी पढ्न छाडेपछि क्लासमा बस्ने कुरा त हुँदै हुँदैनथ्यो । जुनियर कक्षाका विद्यार्थीहरू पनि हाम्रो विद्रोहलाई पर्खिरहन्थे ।

त्यसैले अरू पनि सबै बाहिर निस्कने नै भए । स्कुल नियमित नचलेको एक हप्ताभन्दा धेरै भइसकेको थियो । हाम्रो माग थियो–स्कुलको आय–व्यय दुरुस्त होस् । यसैबिच सूचना निकालेर प्रत्येक कक्षामा सुनाउने निर्णय गरियो । यो क्रम कक्षा ९ देखि नै जारी थियो । कक्षा १० मा पुगेर पनि सकिएको थिएन । राम्रो भाका पुर्‍याएर लेख्न जान्ने र सबैले मान्ने मान्छे स्कुलमा सुन्दरमणि मात्रै थियो । अनि हेडमिसविरुद्ध हाम्रो आन्दोलन यही यौटा सूचनाबाट सुरु भयो ।

Notice-for-classmate-

-सुन्दरमणिले लेखेको विद्रोहको सूचना

सुन्दरमणिले लेखेको यो सूचना मेरो पुरानो यादको सन्दुकमा ३२ वर्षपछि भेटेँ अनि फेरि ती दिनहरू चलचित्रका रिलझै मेरा आँखासामु आए, जसमा हिरो सुन्दरमणि थियो ।

तीन महिनाअघि हामीले हिसाबकिताब पारदर्शी बनाउन प्रधानाध्यापकलाई निवेदन दिएका थियौँ । यसको बोधार्थ चाहिँ जिल्ला शिक्षा अधिकारीलाई पठाएका थियौँ । हेडमिस सावित्री श्रेष्ठले केही समय मागेकी पनि थिइन् । मागेको समयसीमासम्म हामी चूप थियौँ तर समयसीमा नाघिसकेपछि पनि उनले कुनै काम गरिनन् । त्यही भएर हामी आन्दोलित भएका थियौँ ।

एसएलसी टेस्ट परीक्षा नजिकिँदै थियो । टेस्ट परीक्षा पास नगरी एसएलसी परीक्षा दिन पाइन्न थियो । पढाइको कुनै टुङ्गो थिएन । यसैबिचमा स्कुलका टिचरहरूले स्कुल आए पनि पढाउन छाडे । मौन धारण आन्दोलन सुरु भयो । स्कुलका अभिभावक व्यवस्थापनबाट निराश थिए । स्कुलमा केही त परिवर्तन हुनुपर्छ भनेर अभिभावकहरूसँग छलफल भएको थियो । स्कुलका शिक्षकहरूको चक र पेन डाउन आन्दोलनविरुद्ध शिक्षित अभिभावकहरूको खोजी गरियो ।

नियमित पढाउन सक्ने ग्राजुएट गरेर बेरोजगार बसेका तीन–चारजना अग्रजहरू पढाउन तयार भए । स्कुलको नियमित पढाइ सुरु भयो । कक्षा ७ भन्दा मुनिकाहरूलाई कक्षा १० का विद्यार्थीले कक्षा बाँडेर लियौँ । स्कुल नियमित अनि जोशका साथ लाग्न थाल्यो ।

यी सबै कुरालाई व्यवस्थापन गर्ने कुशल नेता थियो, सुन्दरमणि राई । सुन्दर कक्षाका नियमित अनि तीक्ष्ण विद्यार्थी थियो । उसको रोल नम्बर दुई थियो । खोटाङको बाक्सिलाबाट पढ्न झरेको ऊ जेहेन्दार र मेहनती विद्यार्थी थियो ।

पहाडको दुःख बुझेको, अनुभव र विचारले खारिएको थियो, सुन्दर । अभिभावक वा विद्यार्थीहरूलाई राम्ररी सम्झाउन सक्थ्यो । स्कुलको प्रार्थना सभादेखि नै ऊ सक्रिय हुन्थ्यो । प्रार्थना सकिएपछि ऊ अगाडि जान्थ्यो अनि आन्दोलनको औचित्यबारे बोल्थ्यो ।

‘विद्यार्थी साथीहरू, आज हामी किन यसरी आन्दोलन गर्ने भयौँ त ? हामी गरिब, गिट्टी कुट्ने मजदुर, ज्यालादारीमा काम गर्ने कुल्ली, रिक्सा कुदाउने रिक्सावालका छोराछोरी हौँ । उनीहरूले  आफ्नो गाँस काटेर नियमित फिस तिरेर हामीलाई पढ्न पठाएका हुन् ।

उनीहरूको सपना छ– पढीलेखी विद्वान् बनोस्, राम्रो नोकरी गरोस्, आमाबाबाको सपना पूरा गरोस् तर आमाबाबाले मेहनत गरी जम्मा गरेको पैसा हिनामिना भएको छ । त्यसैले हाम्रा आमाबाबाको सपनामा तुषारापात भएको छ ।

यसैको विरुद्ध हाम्रो आन्दोलन हो । हाम्रो माग पूरा नभइन्जेल तपाईंहरूको साथ चाहन्छौँ ।’ परर ताली मारेर विद्यार्थीहरूले समर्थन गर्थे । मैले भाषण कला पनि सुन्दरमणिबाट नै विरासतमा पाएको हुँ । हाम्रो स्कुल तीन दिन जति त्यसरी नै हाम्रो कक्षाका विद्यार्थी र अभिभावकहरूले चलाए । त्यस बेलाको पञ्चायत स्कुल (ज्ञानोदय मावि) धरानभरिका विद्यार्थी, अभिभावक र शिक्षकहरूको चासोको केन्द्र बनेको थियो ।

हाम्रो आन्दोलनबाट हेडमिस झुकिन् । हिसाबकिताब सुनाउने भइन् । स्कुलका सञ्चालक बोर्डका भूतपूर्व अध्यक्ष भक्तबहादुर कटवाल र धनप्रसाद लिम्बूसँग नियमित भेट हुन्थ्यो । दुवैजना मङ्गलबारेका अभिभावक थिए । उनिहरूका अनुसार हेडमिस सावित्री श्रेष्ठ भ्रष्टाचारी थिइन् । उनीहरूले दिएका प्रमाणका आधारमा हामीले स्कुलको अनियमितताबारे आन्दोलन उठाएका थियौँ ।

आन्दोलनको चार महिनापछि सबै अभिभावक र विद्यार्थीहरू भेला भएका थिए । स्कुलको हिसाबकिताब सार्वजनिक गर्न स्कुलको तर्पmबाट कार्यक्रमको आयोजना गरिएको थियो । हिसाबकिताब बनिबनाउ अनि पुरानै सुनाइँदैछ भन्ने हामीले थाहा पायौँ ।

कक्षाका साथीहरूले एकाउन्टेन्ट भरत श्रेष्ठलाई उसकै कोठामा थुनेर लछापछार पारेछन् । ‘नभएको हिसाब देखायौ भने बाँकी राख्दैनौँ’ भनेर धम्की दिएछन् । कसो–कसो भाग्ने मौका पाएका भरत श्रेष्ठ आजसम्म कहिल्यै फर्केनन् । कार्यक्रम भाँडियो ।

त्यही भेलामा हेडमिसलाई कालोमोसो दल्ने अनि जुत्ताको माला लगाउने योजना बनाएछन् । मलाई चाहिँ विद्यार्थीको प्रतिनिधिको हिसाबले मञ्चमा बोलाएर बोल्न दिइएको थियो । मैले त्यहीँबाट हेडमिसलाई आरोप लगाएँ अनि हाम्रो स्कुलको नराम्रो अवस्थाको जिम्मेवारी लिन भनेँ ।

मेरा सबै साथीहरू कवि, भरत, दीपक, कुबेर, सुरेश, प्रकाश कालोमोसो र जुत्ताको माला ठिक पारेर बसेका थिए । उनीहरूले बनाएको जुत्ताको माला मेरो हातमा पर्‍यो । म त्यो माला लगाइदिन हेडमिसततर्फ बढेँ, सबैले रोके । त्यो बेला मेरा आफ्नौ दाइ दिवसले भने, ‘छानविनको प्रक्रिया अगाडि बढ्ने भयो । छोड् दे, चूप लाग् ।’ म शान्त भएँ । त्यो दिन दुर्घटना हुनबाट जोगियो ।

हाम्रो आन्दोलनको प्रभावले अभिभावक, शिक्षक र विद्यार्थीहरूको संयुक्त छानविन समिति गठन भयो । विद्यार्थीका तर्फबाट म र सुन्दरमणि समितिका सदस्य भयौँ । झण्डै एक महिना छानविन चल्यो । हाम्रो एसएलसी टेस्ट परीक्षा पनि सँगै चल्दै थियो ।

छानविन समितिले हेडमिसविरुद्ध प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यसपछि सावित्री श्रेष्ठ हाम्रो स्कुलकी हेडमिस रहिनन्, जसको धेरै दबदबा र हैकम थियो । हामी सबै ५६ जना नै टेस्ट परीक्षा पास भयौँ । टेस्ट पासपछिको समयमा पनि छानविन समितिको काम चलिरह्यो । बारम्बार मिटिङमा गइरह्यौँ । पढाइमा ध्यान कम अनि स्कुलको राजनीतिमा ध्यान धेरै दिएको त्यो समय थियो ।

सुन्दरमणि पास, अरू सबै फेल

२०४९ सालमा म एसएलसी फेल भएँ । हाम्रो पञ्चायत माविलाई नील हुनबाट जोगाउँँदै सुन्दरमणि मात्र सेकेन्ड डिभिजनमा पास भयो । कक्षा १० मा म पहिलो थिएँ, ऊ दोस्रो थियो । एसएलसीको रिजल्ट निस्केको भोलिपल्ट बिहान मात्रै धरान आइपुग्ने गोर्खापत्रमा प्रकाशित हुने रिजल्टमा मेरो नाम अँटेन । सुन्दरमणि एक्लै पास भएर पनि फेल हुनेहरूको भीडका कारण खुसी बाँड्न सक्ने कुरै भएन ।

रुआवासी नै थियो साथीहरूमाझ । अर्को खुसी पनि थियो । साथीहरूका घरघरमा म बदनाम भइसकेको थिएँ । म फेल हुनु सबै साथीका लागि अभिभावकबाट जोगिने बलियो आधार बनेको थियो । ‘फस्र्ट ब्वाई त फेल भयो, हामी त के र ?’ अरू त अरू, मेरो बाउलार्इृ धरी साथीहरूले राम्ररी भन्न भ्याए ।

सेकेन्डरी बोर्डिङ स्कुल र विजयपुर बोर्डिङका सबै विद्यार्थी पास भएको खबर सुनेका साथीहरूले भने, ‘बोर्डिङ पढाउनु पर्दैन । त्याँ त सबै पास हुन्छन् । पञ्चायतमा पढाएर पास होस् भन्ने आश राख्नु गलत हो मामा ।’ साथी कुबेर त्रितालले रुञ्चे हाँसोका साथ भनेको अहिलेजस्तो लाग्छ ।
एसएलसीको परिणामपछि सुन्दरमणिसँग हामी मिल्ने साथीहरूको दूरी बढ्यो ।

फेल र पास हुनेबिचमा यौटा रेखा निर्माण भयो । बाटो अलग भएको थियो । एसएलसीपछि सुन्दरमणि क्याम्पसतिर हाँकियो । मैले मार्कसीट हेरेँ, इङ्लिसमा २३ नम्बर आएर फेल भएछु । कस्तो निर्दयी † एक नम्बर थपिदेको भए ग्रेस मार्क पाएर पास हुने थिएँ । दाग लागेर कम्पार्ट दिन इङ्लिस ट्युसन लिन जानु त पर्दैनथ्यो ।

म फेल हुनुको पहिलो कारण ‘सुन्दरमणिसँगको सङ्गतले राजनीति गर्न थालकाले’ भन्ने हल्ला फैलिएको थियो । नत्र कक्षामा पहिलो हुने फेल हुनु, दोस्रो चाहिँ पास हुनु ? यस्ता टोले अड्कलहरू प्रशस्त सुनिन्थे । अझ ‘जसकुमार प्रेममा परेर फेल भयो’ भन्न पनि भ्याएका थिए । साथीहरूको दिनचर्या फेरियो । साथीहरूबिच भेट पातलो भयो तर सुन्दरसँग भने मेरो मित्रता अझ गाढा अनि अरू गहिरो हुँदै गयो ।

सुन्दरमणिको पूर्वकथा

सुन्दरमणिले धरान–१७ को सुनौलो चोकमा काकाकाकीको घरमा बसेर पढेको हो । तीन भाइ–बैनीको हेरचाहसँगै घरका नियमित काम अनि स्कुल जानु उसको दिनचर्या थियो । छुट्टीको दिन शनिबार टोलभरिका साथीभाइ लिएर दाउरा काट्न जङ्गल जान्थ्यो । डोकोभरि चिरुवा दाउरा नाम्लो लाएर बोकेर ल्याउनमा ऊसँग कसैले कम्पिटिसन गर्न सक्तैनथियो ।

सुन्दरमणिले बोकेको भारी बोक्न मलाई हम्मे पथ्र्यो । ‘यति धेरै कसरी बोक्न सकिन्छ ?’ मेरै उमेरको, मभन्दा पनि अलि होँचो कदको सुन्दरलाई मेरो प्रश्न हुन्थ्यो । सहजै हाँसेर भन्थ्यो, ‘कर खप्न जान्नुपर्छ, बिस्तारै बानी हुन्छ ।’ हुन पनि उसका लाहुरे काकाकाकीको भर भनेकै सुन्दरमणि थियो । तिनका तीन छोराछोरीको अभिभावक सुन्दरमणि थियो । तीनैजना भाइबहिनी स्कुल पढ्थे ।

sun

 सुन्दरमणिले लेखेको चिठ्ठि

त्यसमाथि घरको जिम्मा पनि सुन्दरमणिकै काँधमा थियो । तीन वर्षका लागि रोजगारीका लागि ब्रुनाई गएका काकाकाकीलाई सुन्दरमणिको समझदार अनि घर–व्यवहारमा कुशल क्षमतामा पूरा विश्वास थियो । यसै कारण नै सुन्दर काकाकाकीको घरमा बसेरै स्कुल सकेर क्याम्पस पढ्दै थियो । असल शिक्षक बन्ने उसको सपना थियो ।

आफ्नो गाउँलाई अझ शिक्षित बनाउन चाहन्थ्यो । हामी दुवैका सपना एउटै भएकोले नै हामी साथ थियौँ । शिक्षक बन्ने सपना देख्थ्यौँ ।
त्यस बेला स्कुल नछिचोल्दै मैले चेगीज आईत्मतोभको ‘पहिलो शिक्षक’ पढिसकेको थिएँ । त्यो उपन्यासको कथा रुसको कुनै कुरकुरेब भन्ने गाउँको थियो । नायक धुसेन बन्ने मेरो किशोर मनमा तय भइसकेको थियो ।

उपन्यासकी नायिका अर्थात् विद्यार्थी आल्तीनाई त विदूषी थिइन् । उनीभन्दा पनि धुसेन नै बन्नु मेरो सम्पूर्ण उद्देश्य थियो ।
मैले पनि एसएलसी पुरक परीक्षा दिएँ । म फुर्सद्मा थिएँ । म र सुन्दरमणि कहिल्यै छुट्टिन्नथ्यौँ । यद्यपि ऊ कलेज जान्थ्यो, म फेल भएको थिएँ । सुनौलो चोकमा उसको घरमा पुग्नु अनि गफिनु दैनिकी नै बनेको थियो ।

खैनी, चुरोट र रक्सीलाई पनि उसले प्यारो साथी बनाइसकेको थियो । यही सङ्गतले म पनि रक्सीको पारखी बन्दै गइरहेको थिएँ । साँझ पर्दै गएपछि लोकल कोदोको आफैले बनाएको सितनसँग चिरिप्प पिउन अनि हाँस्न सिकाउने उही सुन्दरमणि नै थियो ।

मङ्गलबारेको चर्चित ठाउँ ओकोचीको सस्तो विष्णुपादुका ब्रान्ड रक्सी, रमाइलो चोकको आरावाल्नी साइँलीको भट्टी वा शान्तिचोकको भुटेको म्याखे (मगर भाषामा सुँगुरकोे आन्द्रा) सँग निघारको आँगन पनि हाम्रा अड्डा हुने गर्थे ।

बाक्सिलाको बुधबारे बजार
धान के छर्नु र छैन छौ माया खै के गर्नु र ?

तीस वर्षअघिको एक साँझ बाक्सिला बजारमा दाजु रामबहादुर राई ‘हवल्दार’ ले खुबै गाए । अहिलेसम्म कानमै गुञ्जिरहेको छ । उनले स्वर मिलाएर गाएको त्यो बाक्सिला अहिले फेरि पुगिजाऊँ लाग्छ । बाक्सिला बजारमा माइती–चेली भेट्दा चेलीले माइती मानेर सानो गिलासमा रक्सी दिएर सम्मान गर्दा रहेछन् ।

माइतीको सम्मानमा झोलाभित्रको कठुवा वा मटियामा ल्याएको कोदोको तीनपानेको कोसेली दिने राईहरूको पुरानै चलन हो । त्यहाँ तीन हप्ता बस्ता चेलीहरूको शिर उभ्याउनीले अहिले पनि मलाई झस्काइरहन्छ ।

एसएलसी फेलपछि पुरक परीक्षाको परिणाम पर्खनुको झन्झटिलो समयबाट पार पाउनु थियो मैले । सुन्दरमणिलाई नागरिकता बनाउन खोटाङ जानु थियो । धरान घरमा आइपुग्नुभएका माइला दिक्कु (मामा) सँग मामाघर हुँदै मेरो जन्मघर भोजपुर पुग्नु थियो । हामी तीन भाइ थियौँ । सुन्दरमणि, साइनोले उसको काका तर दामले साथी रामजी अनि म धरानबाट भोजपुर हुँदै खोटाङसम्मको यात्रा गर्न बाटो लाग्यौँ । धरान, चतरा, सिम्लेपुल, सुनबालुवा २२ जङ्घार तर्दै भोजपुरको पारपानी फेदी हुँदै मेरो मावल सिक्तेल कट्टी खन्याखर्क पुग्नु ।

कट्टीबाट म जन्मेको पहाडघर कोट गाविस भोटेछाप पुग्नु । त्यसको भोलिपल्ट जौनागी, भोरनागी हुँदै पान्धारेबाट खोटाङ पुग्नु । खोटाङको सदरमुकाम दिक्तेलमा नागरिकता बनाएर सुन्दरमणिको सुन्दर गाउँ बाक्सिला पुग्नु । बाक्सिलाको बुधबारे बजार तीन हप्तासम्म भर्नु । अल्लारे जोबनमा मिल्ने गीत हवल्दार नामले प्रसिद्ध रामबहादुर दाइले गाउनु अनि कतै मनभित्रै अल्झनु, हगि † अझ बाक्सिलाबाट रावाखोला तरेर, लिदुङ खोला दुवाली छेकेर एक रात बास बस्दै माछा मार्न जानु, बोखोप्ते (भ्यागुताको प्रजाति) र साना दुइटा माछा मात्रै समाएको खबर बाक्सिलाका अभिभावकसम्म पुग्नु, छोराको पाहुना आएको साथीले माछा मार्न नसक्दा बाक्सिलाको बदनामै हुने भो भनेर अभिभावकहरू जाल बोकी रावा खोला झर्नु ।

त्यस दिन अभिभावकहरूले गाउँ नै गन्हाउने गरी रावा खोलाको असला माछा मारी ल्याउनु अनि सिङ्गै माछा पकाएर ढिँडोसँग मेरो शिर उभ्याउनु । ‘रावा खोलाको माछालो बाक्सिलाको कोदो सक्यो’ भन्ने आहान त्यसै कहाँ चलेको रै’छ र भन्ने मैले आप्mनै आँखाअगाडि थाहा पाउनु । अहिले पनि मिठो सपना जसरी मनभरि घुमिरहन्छ ।

रावा खोलाको माछासँग ढिँडो मस्काएर खाने राजकीय परम्परा अनि स्वाद बाक्सिलामा मात्रै भेटिने भएकोले नै बाक्सिलाको कोदो सकिएको कुरा सुन्दरसँग एक महिना पहाड घुम्दा थाहा पाएको हुँ । आहा † बाक्सिलाको स्वाद अनि मानिसहरूको माया आँखामा बस्यो, बिझाएन । दिलमा बस्यो, दुखेन । सम्झनामा तारन्तार छ । सुन्दर यस्तै ठाउँमा जन्मेर हुर्केको थियो अनि उसले हामीसँग गर्ने संस्कार प्रेमिल थियो ।
आज ३१ वर्षपछि पनि त्यो गाउँको उखुमै सम्झना हुन्छ । थाहा छैन, सुन्दरमणि र उसको बाक्सिलाको यति सारो सम्झना किन आउँछ ?

खोटाङ सम्पर्क मञ्चको देउसी परिवार

सुन्दर सङ्गीतप्रेमी थियो । उसलाई हार्मोनियम बजाउन आउँथ्यो । महेन्द्र्र कलेजमा पढ्दा खोटाङका साथीहरूसँग भेट भयो । धरान खोटाङ सम्पर्क मञ्चमा उसले हार्मोनियम बजाउँथ्यो । हामी गाउँथ्यौँ, नाच्थ्यौँ । हुन त म भोजपुरमा जन्मिएँ, धरानमा हुर्किएँ अब खोटाङे साथीको सङ्गतले खोटाङ देउसी टोलीसँग तीन वर्ष जति त देउसी नै खेलेँ । यसबिचमा मैले एसएलसी पास गरेँ ।

महेन्द्र क्याम्पसमै मानविकी सङ्कायतर्पm प्रवीणता प्रमाणपत्र तह पहिलो वर्षमा भर्ना भएँ । नाच्नु अनि उद्घोषण गर्नु मेरो रहर बन्यो । मेरो सांस्कृतिक कर्म पनि सुन्दरको कारणले खोटाङ सम्पर्क मञ्चबाट नै सुरु भयो । म अहिले पनि भोजपुरे भन्दा खोटाङेहरूलाई नै धेरै चिन्छु । सुन्दरमणिको कारण नै हो ।

मेरो कोठाको झ्याल

मङ्गलबारे चोकबाट अली तल हुलाकी बाटोकोे एकतले काठको उत्तर फर्किएको त्यो घर ४० वर्षदेखि उस्तै छ । पैसाको अभावमा पुरानो घरकै काठपात प्रयोग गरी झन्डै चार वर्ष लामो समय लगाएर बनेको त्यो रङहीन एकतले घर बाउले बनाएका थिए । बाउलाई भनेर मैले आफ्ना लागि बरन्डातर्फ छुट्टै रहरको कोठा बनाइमाग्ने दुस्साहस गरेको थिएँ । त्यो घरमा छुट्टै कोठा पाउनु मेरालागि सुदूर सपना पूरा हुनु जत्तिकै थियो । साढे पाँच फिट चौडाइ अनि दश फिट जतिको लम्बाइ भएको त्यो कोठा निक्कै सानो थियो ।

सिरानीसँगै साढे पाँच फिटको त्यो खाट सुत्दा छोटो हुन्थ्यो तर निन्द्रा गज्जबले लाग्थ्यो । स्वतन्त्रताको संसार चिहाउने र कल्पनाको भारी बिसाउने चौतारो जस्तै त्यो कोठा थियो । मूल ढोकाभन्दा दाहिनेपट्टिको त्यो कोठामा आउने–जानेहरूलाई राम्ररी देखिन्थ्यो । कोठाको झ्यालबाट बाहिरको दृश्य देख्दा म दङ्ग पर्थेँ ।

कलेज पढ्न थालेपछि सुन्दर पञ्चायत स्कुलअगाडि नै काकाको नयाँ घरमा सर्‍यो । त्यहीँबाट कलेज जान्थ्यो तर कलेज नियमित जाँदैनथ्यो । उसको ध्यान त्यो बेला अर्कै मोडमा मोडिएको थियो । प्रायः कम भेट हुन्थ्यो । कलेज म पनि जान थालेको थिएँ । भेट पातलिँदै गएको थियो । बिस्तारै सुन्दरमणिको जीवनमा नैराश्यले छोप्न थालेको थियो् । रक्सी र तासको अम्मली बन्दै गएको मैले देखेको थिएँ ।

क्याम्पस जान छाडेको थियो । उसलाई परीक्षाको मात्रै ध्यान हुन्थ्यो । पातलो भेटमा मैले उसलाई रक्सी नखान बारम्बार भन्थेँ अनि मलाई भेट्दा खुसी हुँदैनथ्यो ।

भेट्न आउँदा अक्सर कोठामा नछिरी झ्यालबाट नै बोल्थ्यो । लामो बात मार्नु छ भने कोठाभित्र पस्थ्यो । त्यो कोठामा मुश्किलले तीनजना अँट्थ्यो । सुन्दर अति संवेदनशील मान्छे । सायद ऊ पनि कसैको पहिलो प्रेममा थियो ।

धरान ज्ञानोदय माध्यमिक विद्यालयको सुन्दर परिसर वरपर मिलनका सपनाहरू बुन्ने गथ्यो तर परिस्थिति पनि कस्तो आयो भने प्रेयसीको पारिवारिक दवाब र कर्तव्यका कारण ऊ अर्कैकी भई । उसका वैँसालु मायालु सपनाहरू एकै रातमा चकनाचुर भए । सपनाहरूको वास उठ्यो तर रक्सीले कहिल्यै साथ छाडेन ।

छाडिजाने मायालुका सम्झनाहरूले उसलाई सताइरह्यो । असरल्ल चोटहरूले गर्दा स्वाभिमानी सुन्दरमणि आफ्नै तालमा हिँड्न थाल्यो । धरान महेन्द्र कलेजमा केही महिनापछि पढाइ नियमित थिएन ।

Sundarmani-

-सुन्दरमणि राई

तास र रक्सीप्रति सुन्दर मोहित थियो । यसै कारण सुन्दरको गरिबी र परनिर्भरता बढ्दै गयो । काकाकाकीको साथ पनि छुट्यो । अब सुन्दर सायद एक्लो थियो । यही एक्लोपनभित्र मसँग कहिलेकाहीँ मात्रै भेट हुन थाल्यो । म भन्थेँ, ‘रक्सी छोड् ।’

ऊ भन्थ्यो, ‘छाड्ने कोसिस गर्दैछु ।’ २०५२ सालको दोस्रो वर्षको परीक्षा थियो । सुन्दरको छुटेको थियो । ‘कम्बाइन्ड स्टडी’ गरौँ है भन्ने उसको र मेरो सल्लाह हुन्थ्यो तर उसले कहिल्यै भ्याएन । परीक्षा दिने दिन भने सुन्दरमणि मेरो कोठाको झ्यालमा टुप्लुक्क आइपुग्थ्यो अनि भन्थ्यो, ‘सँगै जाऊँ ।’

सात बजे सुरु हुने परीक्षा दिन छ बजे मेरो घरबाट कलेजका लागि बाटो लाग्थ्यौँ । पाठबारे जानेका कुरा एकअर्कालाई सेयर गरेपछि म भन्थेँ, ‘लु हिँड्, जौँ ।’ मेजर नेपाली लिएर मभन्दा एक वर्षअघि आईए पढेका सुन्दरका केही विषय ब्याक थिए । म नियमित दोस्रो वर्षको विद्यार्थी ऊ भने ब्याक दिँदै थियो । हाम्रो परीक्षाको रुटिन पनि एउटै थियो । एक दिन बिहानै मेरो कोठाको झ्याल मा आएर उसले भन्यो, ‘लु, जाऊँ, हिँड् ।’ परीक्षा दिन तयार भएर ऊ बिहानै देखा पर्‍यो ।

म भने पर्सि हुने परीक्षाको तयारीमा लागेको थिएँ । हतारमा हिँडेजस्तो लुगा मिलेको थिएन, आँखा रातो, सासमा हल्का रक्सीको गन्ध, रातको निन्द्रा नपुगेजस्तो अनिदो धङधङीमा थियो । मैले भनेँ, ‘कुन विषयको ?’ उसले भन्यो, ‘मेजर नेपाली ।’ मेजर नेपालीको परीक्षा हिजै थियो । ‘मैले हिजै दिएर आइसकेँ, तेरो चैँ आज हो ?’ मैले झस्कँदै भनेँ ।

नमिठो मुख लाएर उसले भन्यो, ‘यसपालि पनि गोलखाँडी गइयो ।’ गलेको मन लिएर अरू केही नबोली ऊ हिँड्यो । पढाइमा उसको ध्यान थिएन । ऊ एकोहोरो अनि जीवनलाई अर्थहीन मानेर निराशाको गहिराइमा डुबेको भान हुन्थ्यो । त्यसपछि निक्कै महिना ऊसँग भेट भएन ।
फेरि एक जाडोको बिहान चार बजेको हुँदो हो । त्यही झ्याल मा सुन्दरमणि आइपुगेको थियो ।

मै उठेर उसलाई हेरेँ । सायद बिरामी थियो । अनुहार मलिन थियो, शरीर जीर्ण थियो । भर्खरै पिएको रक्सीको गन्ध निक्कै परबाट नै थाहा पाइन्थ्यो । झ्याल मा उभिएको उसको शरीर कमजोर देखिए पनि आवाजले भने निक्कै बलियो भएको सङ्केत गरिरहेको थियो ।

मैले सोधेँ, ‘यति बिहानै कताबाट आइस् ?’ रातभर नसुतेको सुन्दरमणिको बोली लर्बरिँदै थियो । सिगरेटले होला, ओँठमा कलेटी परेको थियो । ‘तँलाई भेट्न ।’ उसले भन्यो । सुन्दर आओस् भनेर ढोका खोलेँ तर ऊ आएन । झ्याल बाटै भन्न थाल्यो, ‘केही दिनमा नै काठमाण्डु जाँदैछु । त्यहाँ स्कुलमा पढाउने काम पनि पाएको छु । अब म सदाको लागि धरान छोड्दैछु ।

अब म काठमाण्डु गएर नै पढाइ पनि सुरु गर्छु, रक्सी छाड्छु अनि मात्रै सुध्रन्छु होला ।’ मैले केही बोल्न कोसिस गरेँ । हाडछाला मात्रै भएको उसको फुकिढल शरीर देखेर मनमनै अत्तालिएको थिएँ । मैले भनेँ, ‘  आफैले  मात्रै सुधार्न सकिन्छ, बाँकी त असम्भव छ ।’


सुन्दरमणि प्रेममा थियो । उसकी प्रेमिका पारिवारिक कर्तव्यको धागोमा कतै बाँधिएकी थिई सायद । प्रेम र कर्तव्यको दोहोरो साइनोमा अल्झिएर दोबाटोमा उभिएकी प्रेमिकाको एकोहोरो प्रेममा सुन्दरमणि थियो ।

एकोहोरो हिँडेको बाटोमा निस्कने दोबाटो खोज्दै थियो । प्रेयसीले परिवारको कर्तव्य र व्यवस्थित भविष्यको बाटो रोजेपछि सुन्दरमणि यादहरू बिर्सन रक्सीको शरणमा गएको थियो । सुन्दरमणिले  आफ्नो व्यथा पोख्न बाटो नजिकको मेरो झ्याल भन्दा पर सायद कुनै स्टेसन नै पाएको थिएन ।

सुन्दरमणिको आवाज अनि ताकत बन्नेहरू निःशब्द थिए । सुन्दरमणि रक्सी–यात्राले गर्दा नै आफन्तहरूको अविश्वास र बेवास्ताका असरल्ल चोटहरूले थिल्थिलिएको थियो ।

पहिलो प्रेमको मृत्युको शोकमा रक्सीसँग जीवन हारेर बसेको थियो । सुन्दरको प्रेममा जित्नेहरूले ५२ सालको कुनै चीसो रात धरानमा आत्मिक स्वाभिमानको मृत्यु भइन्जेल उसलाई कुटेर नालामा फालेछन् ।

बेहोशीकै अवस्थामा भेटिएको उसको शरीर बाँचे पनि आत्मा सयौँपटक मरिसकेको थियो । कुट्नेहरूले उसको शालीन आत्मिक प्रेमलार्ई कसरी बुझ्थे ? स्वाभिमानको मृत्युपछि थिलथिलो भएर जसोतसो बाँचेको उसको शरीर काठमाडौँ हानिएको थियो ।

शरीरले घाइते सुन्दरमणि आफैलाइ सम्हाल्ने कोसिस गर्दै थियो ।आफैलाइ सान्त्वना दिँदै थियो । मसँग सहानुभूतिका शब्दबाहेक उसलाई दिन केही थिएन । काठमाडौँ गएको केही दिनपछि नै उसको असामयिक मृत्युको खबर आफन्तहरूबाट सुनेँ ।

सुन्दरमणिका बेवारिसे सपनाहरूको अधुरो यात्राको चिहान आज पनि पशुपतिछेउको वनकाली जङ्गलमा कतै होला । अब उसका लागि को होला ? काठमाडौँ जानुअघि बाटो छेउको मेरो एकतले काठेघरको झ्याल मा देखेको उसको अन्तिम आकृति अहिले पनि मनभरि देख्छु ।

Jas Kumar Rai

लेखक -जसकुमार राई

धेरै यादहरू बेस्मारी आएछन्, असल आत्माले कहिल्यै दुःख दिँदैन रहेछ ।
त्यो दुःखको घर मङ्गलबारेको सानो झ्याल बाट राम्ररी विदाइ गर्न पाइनँ ।
अलविदा सधैँभरि हुँदैन, अलविदा अन्त्य हुँदै होइन । अलविदाको अर्थ हामी फेरि नभेटिएसम्म म सम्झिरहन्छु वा तँ सम्झनामा रहिरहने छस् ।
अलविदा †

ज्याक्सन हाइट, न्यूयोर्क
अमेरिका

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved