“कर्मचारी कल्याणका लागि खुट्टा कमाउने पक्षमा छैन” 'अन्तर्वाता'

  • पुष २२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

 धरान / २०७२ सालदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको अधिवेशन हुन सकेको छैन । तत्कालीन अध्यक्ष सुजेन्द्र गोले तामाङले राजीनामा दिएपछि कमिटी निष्क्रिय रह्यो । सोही कमिटी तदर्थ कमिटीका रुपमा निर्माण भएर अधिवेशन हुने सन्दर्भमा छ । प्रतिष्ठान पदाधिकारीको बैठकले निर्वाचन समिति घोषणा गरेपछि समितिले आगामी पुस २३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको छ । यसै सन्दर्भमा । २०५० साल पुस २२ गतेदेखि प्रतिष्ठानमा सिनियर क्लर्कमा प्रवेश गरेका संजीवकुमार कर्ण अध्यक्षको उम्मेदवारका रुपमा देखिएका छन् । झण्डै तीन दशक लामो अनुभवले उनी कर्मचारीको नेतृत्वमा आउन चाहेका छन् । हाल मेडिकल स्टोर शाखामा अधिकृतका रुपमा कार्यरत कर्णसँग निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको संपादित अंश ।

 कर्मचारीका रुपमा काम गर्न थालेको झण्डै तीन दशकपछि नेतृत्वमा तपाईंको उम्मेदवारी आए छ नि ?

कर्मचारी कल्याण समाजको तदर्थ समितिमा विगत ६ महिनादेखि छु । तदर्थ समितिमै रहेर पनि कर्मचारीको कल्याणका लागि केही काम गराएको छु । २०७२ सालदेखि निर्वाचन हुन नसकेको समाजको हाम्रै पहलमा निर्वाचनको पहल ग¥यौं । पदाधिकारीहरुले निर्णय गरेर निर्वाचन समिति पनि घोषणा भयो । निर्वाचन समितिले सल्लाह गरेर मिति पनि तय भयो । यही पुस २३ गते निर्वाचन हुँदै छ । मैले मेरा जीवनका सबै तीतामीठा अनुभवलाई संगालेर नेतृत्व लिन चाहेको छु । यहाँहरु सबैलाई सर्वबिदितै छ ।

कर्मचारीको पक्षमा काम भएको छैन र ? प्रतिष्ठानमा ?

कर्मचारीको पहिलेदेखि नै बुँदागत रुपमा काम भएको छैन । जस्तै ग्रेडको कुरो छ । तलब समायोजनको कुरो छ । पद समायोजनको कुरो छ । त्यसपछि वृत्तिविकासको कुरो छ ।

अध्ययन बिदाको कुरो छ । वैकल्पिक बिदाको कुरो छ । सञ्चय कोषको कुरो छ । पेन्सन, उपदान कोषको कुरो छ । यो सबै व्यवस्थापनका लागि चाहिं कडा रुपले बहस भएको छैन । सिस्टम बनाउनुपर्छ । त्यो सिस्टम बनिसकेपछि आफैं सबै कुरा समाधान भएर जान्छन् । त्यही सिस्टम बनाउने कुरो हाम्रो प्राथमिकता हो ।

अहिलेसम्म कसैको काम हुने, कसैको नहुने भइरहेको छ । एकरुपता छैन । त्यस्तो देखिएको छ । कसैलाई काखा, कसैलाई पाखा भन्ने कुरा नहोस् । कोही भिसीको मान्छे छ, कोही रजिष्ट्रारको मान्छे छ, कोही डाइरेक्टरको मान्छे छ । यहाँ कोही कसैको सोर्सबाट आएको छ भने त्यसको काम हुने, तर कोही निष्पक्ष रुपमा प्रतिष्ठानमा वर्षौंदेखि सेवा गरिरहेको छ भने उनीहरुको काम नहुने । यस्ता खाल्का वातावरणमा वैमनश्यता उत्पन्न हुन्छ । काम गर्ने वातावरण हुँदैन ।

एउटा सिन्सियरली काम गर्ने मान्छेले के आधारमा काम गर्ने त त्यो संस्थामा ? ती आधारहरु सबै नष्ट भएको अवस्था छ । सबै सिस्टम बनाउनलाई चाहिं कडा रुपले पहल गर्नेछु । तपाईंलाई पनि लाग्ला वास्तवमै काम भएको छैन ।

भनेपछि त असुविधा र असहजता पनि निकै होला नि ?

६ सय, ७ सय नर्सिङ कर्मचारीहरु हुनुहुन्छ । हप्ताको तीन दिन नाइट गर्नुहुन्छ । देशैभरि सबै अस्पतालमा नाइट एलाउन्स छ । तर यहाँ प्रतिष्ठानमा अहिलेसम्म कसैले नाइट एलाउन्स पाएको छैन । हार्ड ड्युटी, सबैभन्दा टफ ड्युटी भनेको नाइट ड्युटी हो ।

हप्तामा तीन दिन नाइट ड्युटी गरेवापत् उहाँहरुले के पाउनु हुन्छ ? केही पनि छैन । सुविधा त केही पनि छैन । गोरु जोतिए झैं यहाँको कर्मचारी जोतिएको छ । तर कुनै पनि इन्सेन्टिभ पाउँदैन ।
त्यो किन भने, अहिलेसम्म संगठनले कुरा उठाए पनि त्यो पूरा हुन नसकेको अवस्था छ । सबै कुरा पूरा गराउन म कडा रुपले पहल गर्नेछु ।

अर्को कुरो युटिलिटीको कुरो छ । त्यसमा पनि एकरुपता छैन । कसैले अफिस टाइमपछि काम गर्दा युटिलिटी भत्ता पाउनु हुन्छ । कसैले काम गर्दा पाउनु हुन्न । एकनास छैन । यी यावत् कुरा गम्भीर मुद्दा हुन् ।

र, अध्ययन बिदाको पनि कुरा छ । यत्रो जमात छ नर्सिङ कर्मचारीहरुको कोही सिएन गरेर आउनु हुन्छ । कोही डिप्लोमा इन नर्सिङ गरेर आउनुहुन्छ । कोही बिएन गरेर आउनु हुन्छ । तर यहाँ अपर्चुनिटी केही देखिंदैन । यहाँ खाली काम ग¥यो, जतिखेर छोड्नु पर्ने भयो छोडेर गयो । त्यतिमात्रै हो । त्यसबीचको उपलब्धी केही पनि छैन । त्यसमा अहम् उपलब्धी के हुनुपथ्र्यो भने, शैक्षिक स्तर बढाउनुपथ्र्यो । नर्सिङ जनशक्ति यत्रो ७ सयको हाराहारीमा हुनुहुन्छ ।

वर्षेनी कमसेकम ५–१० जनालाई अध्ययन बिदा दिएर डिप्लोमा नर्सिङ गरेको छ भने उसलाई ग्राजुएसन गराउनेतर्फ प्रतिष्ठानले लानुपथ्र्यो । पहिला थ्यो, यो सिस्टम तर सबै भताभुङ्ग भयो । त्यसलाई हामी बिउँत्याउँछौं । अपर्चुनिटी सबैले बराबर पाउनु पर्छ ।

त्यस्तै हजार्ड अर्थात् जोखिम क्षेत्रमा काम गर्ने व्यक्तिले आफ्नो जिउधनको माया नराखी काम गर्नुहुन्छ । जस्तै ल्याब भयो, एक्स रे भयो, नर्सिङमै भयो । नर्सिङमै यस्तो कतिपय क्षेत्र छ, जहाँ काम गरेवापत् मान्छेलाई इन्फेक्सन हुन सक्छ । जीवन मृत्युको कुरो छ त्यहाँ ।

त्यस्तो क्षेत्रमा काम गर्नेहरुलाई ‘हजार्ड एलाउन्स’ दिनुपर्छ । रेडियोलोजीमा काम गर्नेलाई रेडियसन लाग्न सक्छ । ल्याबमा काम गर्नेलाई विभिन्न किसिमको इन्फेक्सन हुन सक्छ । नहोस् तर सम्भावना त छ । त्यस्तो अवस्थामा के गर्ने त ? नेपालका हरेक अस्पतालमा यो सरकारले नै दिएको सुविधा हो ।

यो कुनै नौलो कुरो होइन । तर यहाँ लागू भएको छैन । त्यो कुरो पनि लागू गर्ने हो ।

तपाईंहरुले कस्तो प्रतिष्ठानबाट कस्तो व्यवस्थापनको अपेक्षा लिनु भएको छ ? तपाईंको मुद्दा के हो ?

नेपाल सरकारको एउटा जागिरे रिटायर्ड भएपछि हेन्सम एमाउन्ट आफ्नो जीवनको अवधिभर सेवा गरेवापत् रिटायर्डका बेला पाउनुहुन्छ । यहाँ हाम्रो कर्मचारी रिटायर्ड भएपछि केही पनि पाउनुहुन्न । बिरामी बिदा र घरबिदा बाहेक केही पनि छैन । एउटा सामान्य जीवन बिमाधरि छैन । तीस– चालिस वर्षसम्म कर्मचारी यहाँ काम गरेर रिटायर्ड हुन्छ । रिटायर्ड हुँदा संचय कोष पनि झिकिसकेको हुन्छ । छोराछोरी पढाइ–लेखाइदेखि घर बनाउँदा अथवा विवाह गर्दा संचय कोष पनि सकिसकेको हुन्छ ।

एक रुपैयाँ हुँदैन । पाउने भनेको त्यही पाँचसात लाख रुपैयाँ हो । यहाँ जीवन बिताइसकेपछि मान्छेले उपलब्धी त केही पनि हाँसिल गर्न सक्दैन नि त । त्यसपछि पनि जागिर खोज्नुपर्ने अवस्था हुन्छ । ६०– ६१ वर्ष कटिसके पछि फेरि जागिर खोज्नुपर्ने हुन्छ । त्यसका लागि कुनै व्यवस्था हुनुपर्छ भनेर हामीले सोच बनाएका छौं ।

यी सबै मुद्दा सम्बोधनका लागि तपाईंको जित पर्याप्त छ ?

चुनावमा जितेर गइयो भने यसमाथि कडा रुपले पहल हुन्छ । एकएक गरी सबै बुँदाहरु समाधान गरिन्छ । गर्न खोज्यो भने काम हुन्छ भन्ने मैले विश्वास राखेको छु । जितेर संगठन प्रमुख भएर गएपछि खुट्टा कमाउनेहरु पनि छन् । त्यसरी खुट्टा कमाउने काम चाहिं गरिँदैन ।

म पनि करिबकरिब तीस वर्ष भइसक्यो जागिर खाएको । भोलि म पनि रिटायर्ड हुँदा मलाई पनि यही समस्या हुन्छ । यी सबै समस्याहरुको समाधानको कुरो छ ।

जीवन बिमा त तत्कालै लागू गर्नुपर्छ । सर्टेन एमाउन्ट कर्मचारीको तलबबाट काटेर सोही बराबरको पैसा संस्थाले दिएर जीवन बिमाको प्रिमियम तिरेर जबसम्म मान्छे यहाँबाट रिटायर्ड हुँदैन, त्यो अवधिसम्मका लागि जीवन बिमा गर्नु नितान्त आवश्यक छ । त्यसले जोखिमको पनि भर्पाई गर्छ । दुर्घटना बिमा पनि हुन्छ । जीवन बिमा पनि हुन्छ ।

अझै पनि कर्मचारी कल्याणका लागि केके गर्न सकिन्छ, त्यो विषय हामी खोतल्छौं । ताकि मान्छेले जीवन योगदान दिइसकेपछि त्यो योगदानको केही न केही कदर होस् भन्ने मेरो कुरो हो ।

अघिल्ला कमिटीको कामका बारेमा के भन्नु हुन्छ ?

सुरुमा कर्मचारी कल्याण समाजको कमिटीले राम्रै काम गरिरहेको थियो । २०७२ सालदेखि यता चुनाव भएन । कमिटी पनि कमजोर हुँदै गयो । हेड अफ कमिटी तदर्थ कमिटी भयो । सुजेन्द्र तामाङले अध्यक्ष छाडेपछि तदर्थ कमिटी भयो । कमिटी नहुँदा कर्मचारीको वृत्तिविकास हुन सकेन । कसैकसैको भयो तर व्यक्तिगत तरिकाले भयो । सिस्टमले कसैले पाएन । बढुवा पनि कसैकसैको भयो । सामान्यतया सबैको बढुवा हुनुपर्ने अवस्थामा केही व्यक्तिहरुको भयो ।

म पनि यो तदर्थ समितिमा विगत ६–७ महिनादेखि छु । हाम्रो पहलमा सम्पूर्ण कर्मचारीको एउटा पदोन्नति गराउन सफल भएका छौं । एक तह बढुवा । जजसले पाँच वर्ष स्थायी भएर र पर्फमेन्स करारमा काम गर्नु भाछ, उहाँहरुको एक तह आन्तरिक बढुवा हुने भयो ।

यो काम गराउन हामी सफल भयौं । त्यसपछि गत आर्थिक वर्षमा कर्मचारीको २ हजार रुपैयाँ वृद्धि भएकामा अहिलेसम्म भत्ताका रुपमा खाइरहेका थियौं, त्यो पनि हामीले निर्णय गराउन सफल भयौं । चालु आर्थिक वर्षमा नेपाल सरकारले गरेको १५ प्रतिशत तलब वृद्धि पनि कार्यकारिणी समितिमा लगेका छौं ।

अब त्यो पहिलो सञ्चालक समितिको बैठकबाट पारित हुन्छ भन्ने आश्वासन पाएका छौं ।
सोच यदि पोजिटिभ छ भने काम हुन्छ भन्ने हाम्रो विश्वास छ । खुट्टा कमाउनेतिर गयो भने कसैको पनि काम हुँदैन । सबैको काम भयो भने संगठनमा बसेको मान्छेको पनि काम देखिन्छ । तर, आफ्नो काममात्र गराउन खोज्यो भने कसैको पनि काम हुँदैन । र, संस्था पनि धरासायी हुन्छ ।

कर्मचारीको वृत्तिविकास भएन, प्रोत्साहन भएन भने दैनिक काममा पनि ह्रास आउँछ । त्यो भनेको संस्थाकै क्षति हो । यी यावत् समस्यालाई कडा रुपले समाधानको पहल गर्नेछु भन्ने कुरामा विश्वास दिलाउन चाहान्छु ।

तपाईंलाई विजय गराउने आधार के छन् ?

मलाई विजयी गराउने केही आधारहरु छन् । म हाम्रा समस्या समाधानका लागि कडा रुपमा प्रस्तुत हुन्छु । खुट्टा कमाउँदिन । कर्मचारीको पक्षमा सदैव काम गर्छु । विगत वर्षौंदेखि थाँती रहेका विषय र मुद्दामा एकएक गरी काम गर्न र गराउन प्रतिबद्ध छु । प्रतिबद्धताबाट कहिल्यै पनि तलमाथि हुने छैन ।

म तदर्थ समितिमा रहँदा तीन वटा काम गराउन सफल भएँ । जसको लागि कुनै किसिमको आन्दोलन पनि गर्नु परेन । हरेक कुराका लागि आन्दोलन नै चाहिने होइन । आन्दोलन बिना पनि सिर्जनात्मक रुपमा आफ्नो माग पूरा गराउन सकिन्छ ।

केके तीन वटा काम गर्नु भयो ?

२ हजार रुपैयाँको तलब वृद्दिको निर्णय गराउन सफल भइयो । जुन पहिलो सिनेट मिटिङबाट पास भएर तलब वृद्धि हुँदै छ । नेपाल सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब त्यो पनि कासबाट पास भइसकेको छ । र, पहिलो सञ्चालक परिसदको मिटिङबाट पारित भएर प्राप्त गर्छौं ।

तेस्रो आन्तरिक पदोन्नतिको कुरा, लगभगलगभग दुईतीन महिनाको कसरत भएपछि बल्ल हिजो (बुधबार) विज्ञापन भयो । स्थायी र पर्फमेन्स कन्ट्रयाक्टमा ५ वर्ष कार्यरत सबैको बढुवा हुँदैछ । यी प्रमुख काममा मैले पहल गरें । र, यही नै मेरो आधार पनि हो । आगामी दिनमा पनि उल्लेखित सबै बुँदामा काम गर्ने कुरा म जाहेर गर्दछु ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved