प्रदेश एकको नामकरण पेचिलो बन्दै: पहिचानको आधारमा नामाकरण नभए आन्दोलन गर्ने चेतावनी

  • असार २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान l प्रदेश एकको नामाकरण पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । मुख्य ठूला दलहरुले कोशी वा सप्तकोशी नामाकरण गर्ने विषयमा छलफल गरिरहँदा पहिचानवादीहरुले यसमा आपत्ति प्रकट गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रदेश सरकारको साढे चार बर्षको अवधिमा तीनवटा मुख्यमन्त्री फेरिए सके तर अब समय सकिन लाग्दा नेकपा एमाले तथा गठबन्धनका दलहरुले पहिचानको मुद्दालाई ओझेलमा पारेर प्रदेश एकको नामकरण गर्न लागेको भन्दै पहिचानवादीहरुले मंगलबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउदै साउन ५ गते विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएका छन् ।

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले ज्ञापनपत्रमा प्रदेश १ को नाम ‘लिम्बुवान, किराँत प्रदेश’ हुनुपर्ने मा गरेका छन् ।

७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेको छ । तर प्रदेश एक सरकारले नामाकरणको टुंगो लगाउन नसकेको अवस्थामा पहिचानको आधारमा नामकरण गर्न भन्दै संघर्ष समितिले सोमबार ज्ञापनपत्र बुझाएको हो ।

उनीहरुले ०६२÷०६३ को जनआन्दोलन, लिम्बुवान आन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश आन्दोलन, दलित पिछडावर्ग आन्दोलनहरूको जनादेशअनुसार ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा ‘लिम्बुवान, किराँत प्रदेश’ नामकरण गर्नुपर्ने प्रदेश सरकारलाई सुझाएका छन् ।

संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिश भएबमोजिम पहिचानमा आधारित प्रदेशको नाम सुनिश्चित गर्न संघर्ष समितिले आन्दोलन जारी राख्ने जनाएको छ । मुख्यमन्त्रीको कार्यालय, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखलगायतलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश २ को नाम पहिचानको आधारमा मधेश प्रदेश राखिएको स्मरण गराएका छन् । नेकपा एमाले, नेपाली काँग्रेसलगायत दलहरू पहिचान बिनाको नामकरण गर्न तयार रहेकोप्रति समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

उनीहरुले असार २८, २९ र ३० गते किराँत याक्थुङ चुम्लुङको जिल्ला कार्य समितिको समन्वयमा जिल्लास्तरीय समिति गठन गर्ने, ३२ गते प्रदेशका सबै जिल्लामा कोणसभा गर्ने, साउन ५ गते प्रदेश एकको राजधानी विराटनगरमा बृहत जनप्रदर्शन गने कार्यक्रम तय गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) पहिचानको आधारमा प्रदेशको नामाकरण नभए हदैसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने–‘ संघर्ष समितिले पहिचानको मुद्दालाई उठाएर आवश्यकता अनुसार आन्दोलनका कार्यक्रम घोषण गर्दै जानेछ । पहिचानको आधारमा नामाकरण नहुन्जेल आन्दोलन निरन्तर चल्ने छ ।’

प्हिचानको आधारमा प्रदेश एकको नामाकरण हुनुपर्ने मागमा नेकपा माओवादी केन्द्र आबद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चलगायत ३२ पहिचानवादी संघ संस्थाको समर्थन रहेको छ ।

यसैगरी प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने गोपाल किराँतीको चेतावनी दिएका छन् । माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षण गोपाल किराँतीले प्रदेश १ को नामाकरण पहिचानका आधारमा नभए बन्दुक उठाउने चेतावनि दिएका हुन् ।

उनले चेतावनी दिदै भने–‘विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको हो, फेरि परेको खण्डमा संघर्ष गर्न तयार छौं ।’

किराँतले पार्टीको तर्फबाट मंगलबार विज्ञप्ति प्रकाशित गर्दै विगतमा पनि आफूले हतियार उठाएर सशस्त्र संघर्ष गरेको र फेरि परेको खण्डमा संघर्ष गर्न तयार रहेको चेतावनी दिएका छन ।

विज्ञप्तीमा भनिएको छ ‘पहिचान विरोधी शासकहरु गोर्खाली अन्धराष्ट्रवाद कायम राख्ने अपराध नै गर्दछन् भने हामीले महान जनविद्रोहको रणनीति पनि सँगसँगै लिएका छौं । अतः हिजो सशस्त्र आन्दोलनको नेतृत्व लिएको विरासतका हामीहरु मरेका र हारेका छैनौँ, इतिहासले मागेछ भने पर्याप्त अनुभवसहित फेरि एक पटक बन्दुक उठाउन नपरोस्, यसैसाथ चेतावनी गर्दछौँ । विज्ञप्तिमा अगाडि भनेका छन् ‘आन्तरिक राष्ट्रिय पहिचानको आधारमा प्रदेश नामाकरणका लागि जो जसले आवाज उठाइरहेका छन्, त्यसप्रति हाम्रो पार्टी जोडदार समर्थन गर्दछ । र, जनसमुदायको माग कुल्चने धृष्टता नै गर्दछन् भने प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा पहिचान विरोधी राजनीतिक दलका नेताहरुलाई लखेट्ने जनकार्वाही आन्दोलनको सशक्त आव्हान गर्दछौं । गाउँ–गाउँमा पहिचान दस्ता खडा गरेर अघि बढ्न विशेषतः युवाहरुलाई आव्हान गर्दछौं ।’

किरातीले प्रदेशको नाम किराँत, लिम्बुवान, कोचिला हुनुपर्ने माग गरेका छन् । ‘पूर्वका आदिवासी जनजाति तथा प्रगतिशीलहरुले अहिले केवल ऐतिहासिक पहिचानको प्रदेश नामाकरण मात्र खोजेका छन् । यो अति सामान्य माग समेत सम्बोधन गरिदैन भने विद्रोह जनताको अधिकार हो,’ उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ , ‘संविधानको गर्भमा सिद्धान्ततः समाजवादको भ्रुण छ । यसलाई सकुशल जन्माएर हुर्काउने उद्देश्यमा हामीले शान्तिपूर्ण सडक आन्दोलनको कार्यनीति लिएका हौं ।’

उनले पहिचानको आन्दोलनकै लागि विगतमा उठेका विभिन्न संघर्षमा राजेन राई (मण्डेला), कुलमान जिमी, चेतकुमारी राई, अर्जुन राई, कटकबहादुर साङपाङ, कुमार चेम्जोङले खुद किराती मोर्चाको जिम्मेवारी रहेकै बेला सहादत प्राप्त गरेको र प्रेम कन्दङवा र जसोदा कन्दङवाले किरात गणराज्य सरकारका सदस्यको हैसियतमा मृत्युवरण गरेको पनि उल्लेख गरेका छन् । उनले भने–‘सहीदको सपना पूरा गर्नकै लागि भएपनि प्रदेश एकको नाम पहिचानको आधारमा हुनुपर्छ, अन्यथा हामीलाई मान्यता हुने छैन ।’

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved