समाचार टिप्पणी: मन्त्रीका झुठा कुरा !

  • असार २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । झुठ बोलेर जनता नझुक्याए नेताले भोट पाउँदैनन् । आश्वासन नदिए पत्याउनेवाला छैनन् जनता । नेपाली राजनीतिमा ‘झुठको खेती’ पुरानो रोग हो ।

निर्वाचनताका संकल्पपत्र, प्रतिबद्धतापत्र र आश्वासनहरुमा आधा बढी त पूरा गर्न नसक्ने प्रतिबद्धता सार्वजनिक गरिएको हुन्छ । सार्वजनिक रुपमै विकाससँग जोडिएका प्रतिबद्धता पूरा गर्ने आश्वासन दिन्छन् नेता, र चुनाव जित्छन् । चुनावजितेपछि प्रतिबद्धता उनीहरुको प्राथमिकतामा पर्दैन ।

आफ्ना कार्यकर्तालाई जागिर लगाइदिने र लाभको पदमा पुर्‍याउने धेरै प्रतिबद्धता सार्वजनिक हुँदैनन् । कतिपय झुठ ‘ओपन सेक्रेट’ हुन्छन् तर पनि नेताले ‘लाज पचाएरै’ दोहोर्‍याइ रहेका हुन्छन् ।

सुनसरी जिल्लाको सन्दर्भमा बसपार्क, एयरपोर्ट, खानेपानी, स्मार्ट सिटी, सार्वजनिक शौचालय, आकाशे पुल, डेटिङ स्पोटजस्ता विषय चर्को रुपमा उठेका तर सम्बोधन नभएका मुद्दाहरु हुन् । बारम्बार नेताहरु गतिछाडेरै यस्ता विषय उठाइरहेका हुन्छन् । तर, कार्यान्वयनमा तदारुकता दिँदैनन् ।

पछिल्लो समय धरान उपमहानगरपालिकामा खानेपानीको मुद्दा उठाएर चुनाव जितेका मेयर हर्क साम्पाङलाई जनताले पत्याएका छन् । र, उनी आफ्नो महत्वपूर्ण एजेण्डा कृयान्वयनतर्फ अघि बढेका छन् । नेताका खोक्रा आश्वासनका कारण साम्पाङलाई अपवाद भन्नु पर्ने बाध्यता छ ।

कतिपय अपूरा आश्वासनका हुन्छन् भने कतिपय काम पूरा भएका हुन्छन् । जसलाई नेताले जस लिने माध्यम बनाएका हुन्छन् । एउटा वडामा एउटा विकास निर्माणलाई वडाध्यक्षदेखि मुख्यमन्त्री हुँदै संघीय सांसदले जस लिन्छन् । र, ‘यो त मैले गर्दा भएको हो नि ।’ भन्छन् ।

बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ मा पर्ने श्रीलङ्का टप्पुमा गत वर्ष पहिलो पटक बिजुली बत्ती बल्यो । टप्पुमा बिजुली पुर्‍याउन बराहक्षेत्र ९ का तत्कालीन वडाध्यक्ष दीपक लिम्बूको पहलमा ट्रान्सफर्मर पु¥याइयो । र, काम अघि बढ्यो । उदयपुरको बेलका नगरपालिकामा रमण भट्टराई अध्यक्ष रहेको ग्रामीण विद्युतीकरण परियोजनाअन्तर्गत समेत बिजुली बत्ती बालियो । तर, सोको जस लिने काम हालका सरकारका प्रवक्ता समेत रहेका सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिए । सुनसरी क्षेत्र नम्बर ४ का सांसद्समेत रहेका मन्त्री कार्कीले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका योजनाहरुमा आफ्नो पहलकदमी रहेको भाषण मञ्चहरुमा गर्दै आएका छन् ।

उनले आफ्ना कार्यकर्तालाई पनि यी विषयमा अभिव्यक्ति दिन प्रशिक्षित समेत गर्ने गरेका छन् । यो सिलसिला उनको निर्वाचन क्षेत्रमा मात्रै रहँदैन । सुनसरी क्षेत्र नम्बर १ का विकास निर्माणमा पनि उनले खुलेरै जस लिने काम गरिरहेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भएको १६५ निर्वाचन क्षेत्रमा १ रणनीतिक सडक निर्माण गर्ने निर्णयअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा यहाँका सांसद जयकुमार राईले छनोट गरेको योजना समेतमा मन्त्री कार्कीले आफ्नो पहल रहेको बताउँदै आएका छन् ।

रणनीतिक योजना छनोट गर्दा सुनसरी १ का सांसद जयकुमार राईले रणनीतिक सडकका रुपमा छनोट गरेको योजनालाई समेत मन्त्री कार्कीले आफूले पहल गरेको भनेर सार्वजनिक वक्तव्य दिँदै छन् ।

तर मन्त्री कार्कीले सो योजनाअन्तर्गत आफ्नो रणनीतिक सडक सुनसरी क्षेत्र नं. ४ मा छनोट गरेका छन् । उनले ‘सदानन्दन मण्डलको घरदेखि सदानन्द शाहको घर हुँदै बाबुजी साहको घर हुँदै कोशी टप्पु, गल्फरिया, शिव चोक कटान सडक कालोपत्रे’ गर्ने रणनीतिक सडक छनोट गरेका छन् । कार्यविधि अनुसार सांसद्ले आफ्नो निर्वाचन क्षेत्रबाहेक अर्को निर्वाचन क्षेत्रमा योजना छान्न सक्ने अवस्था रहँदैन ।

‘करिब ३ वर्षको निरन्तर प्रयास गरेअनुसार यो भन्दा अघि केपी ओलीको सरकारको पालामा १६५ निर्वाचन क्षेत्रमा १ रणनीतिक सडक निर्माण गर्ने निर्णय गरेअनुसार सुनसरी क्षेत्र नं १ को थुप्रै सडक निर्माण गर्नु पर्ने रहेता पनि बाङगे–धरान जोडने रणनीतिक महत्वको रहेको हुँदा त्यस क्षेत्रबाट निर्वाचित सांसदले सिफारिस गर्नुपर्ने कार्यविधि अनुसार मैले यस सडकलाई सिफारिस गरेको हुँ,’ सांसद राईले भने, ‘डिपिआर बन्ने क्रमदेखि निरन्तर फलोअपमै रहेको थिएँ चाँडो गर्न मन्त्रालयमा दबाब दिएअनुसार विराटनगरबाट टेण्डर आह्वान भई काम सुरु भएको छ ।’

स्थानीय तहको निर्वाचनमा पनि भोट माग्ने एउटा रणनीतिका रुपमा बाङ्गे– धरान सडकलाई प्रयोग गरियो ।

शनिबार बराहक्षेत्र ६ स्थित चक्रघट्टीमा रहेको सप्तकोसी बहुमुखी क्याम्पसको एक कार्यक्रममा मन्त्री कार्की प्रमुख अतिथिका रुपमा आए ।

उनले राजनीतिक भाषण गर्ने र आश्वासन दिनेमात्र होइन विकास पनि गर्ने बताए । विकासबिना राजनीति खोक्रो नारा रहने स्पष्ट पारे । मन्त्री कार्कीले भने, ‘राजनीतिक भाषण र आश्वासन मात्र होइन, विकासबिनाको राजनीति एउटा खोक्रो नारा मात्र हो ।’

मन्त्री कार्कीले बाङ्गे– धरान सडकको प्रसङ्ग निकाल्दै आफैंले उक्त सडक निर्माण गर्न पहल गरेको दोहो¥याए । उनले भने, ‘केही समयअघि यसै स्थानमा बसेर मैले बराहक्षेत्रका तत्कालीन मेयर निलम खनाल, प्रदेशका यातायात तथा भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीलाई भनेको थिए तपाईंहरूको पहलमा हुनसक्छ भने गर्नुहोला नत्र म आफैंले त्यसको पहल गर्नेछु ।’

त्यसैको अनुरूप आज बाङ्गे–धरान सडकखण्ड कालोपत्रेको पहिलो चरण सुरू भइसकेको मन्त्री कार्कीले दाबी गरे ।
अन्य राजनीतिक दलका नेताले गर्न नसकेको काम आफूले गरेको दोहोर्‍याइ रहँदा वास्तविकता भने ओझेलमा परेको छ । देशको मन्त्री भइरहँदा विकास निर्माणमा पहल गर्नु स्वभाविक मानिन्छ । तर विकासलाई राजनीतिक एजेण्डा र भोट बैंकका रुपमा प्रयोग गर्न झुठको खेती गरिनु वाञ्छनीय हुँदैन ।

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved