धरान । सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोगमा मुछिएकी प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले बुधबार पदबाट राजीनामा दिएकी छन् ।
खातुनले सभामुख प्रदिपकुमार भण्डारीसमक्ष दिएको राजीनामा बिहीबार सभामुखले स्वीकृत गरेका छन् । अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्याउन अनुमति दिन अस्वीकार गरेको थियो ।
सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्याउन माग गरेकी थिइन् । तत्कालीन कद्माह गाउँ विकास समितिमा रहेको ३ विघा १० कट्ठा जग्गाको मोही पाउनका लागि खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो ।
मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो । अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन् ।
विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै सजाय थपेको थियो । उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला भएको थियो । उच्चको फैसलाप्रति पनि असन्तुष्ट जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोयाउन माग गरेकी थिइन् । तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहो¥याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो ।
जिल्ला अदालतको आदेश लगत्तैदेखि फरार उनले संसदमा सुटुक्क आएर हाजिरी जनाउँदै तलबभत्ता भने बुझ्ने गरेकी थिइन् । प्रहरीले उनलाई खोज्दै आएको बताए पनि एमाले दबाबका कारण उनी प्रहरी नियन्त्रणमा पर्नबाट जोगिँदै आएकी थिइन् ।
खातुनले राजीनामा दिएपछि प्रदेशसभामा एमालेको सांसद संख्या सभामुखसहित ३८ मा झरेको छ ।