धरान । सोमबारदेखि आएको अरिबल बर्षाको कारण सप्तकोशीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा बुधबार पानीको बहाव एकलाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।
कोशी व्यारेजको ढोका खोल्ने तथा बन्द गर्ने विषय भारतको नियन्त्रणमा रहेकाले कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ । नदीको बहाव बढ्दै जादा आसपासमा बसोबास गर्ने सर्वसाधारणाको जमिन कटान गर्न थालेको स्थानीयको भनाइ रहेको छ ।