धरान । सरकारले आर्थिक बर्ष २०७९–८० को बजेट भाषणामा कर्मचारीको तलबमा १५ प्रतिशत बृद्धि गरेपनि विद्यालयका कर्मचारी, लेखापाल र विकास शिक्षको तलब नबढेको भन्दै तलब बढाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि विद्यालय कर्मचारी, लेखापाल र बाल विकास शिक्षकको तलब वृद्धिको विषय सरकारले कुनै सम्बोधन नगरेको भन्दै आफूहरुको तलब पनि सरकारले वृद्धि गरेको सो सरह हुनुपर्ने भन्दै गाउपालकालाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवल अध्यक्ष भीमबहादुर राईले राष्ट्रसेवक कर्मचारीहरूसरह बाल शिक्षकलाई प्रावि सरह, लेखापाललाई खरिदार सरह र विद्यालय कार्यालय सहयोगीलाई सरकारको कार्यालय सहयोगी सरह तलबमान कायम गर्नुपर्ने माग विज्ञप्तीमार्फत राखेको बताए । उनले भने–दिनप्रतिदिन महंगी बढ्दै गएको छ, हाम्रो तलबचाहिँ बढेको छैन, यसले जीवन धान्न गाह्रो भएको छ ।’
उनीहरुले विज्ञप्तीमार्फत महँगी भत्ता अनिवार्य उपलब्ध गराउनु पर्ने, विद्यालय कर्मचारी तथा बाल शिक्षकहरूको सञ्चयकोष र गोल्डेन हेण्डसेकको व्यवस्था नियोजित ढङ्गबाट हुनुपर्ने, बाल शिक्षक तथा लेखा कर्मचारीलाई पुनर्ताजगी तालिमको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी देवमाया सुब्बासहित पुगेका टोलीले गाउँपालिकाका अध्यक्ष कालिन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाउदै ज्ञापनपत्र बुझाएका हुन् ।