धरान । वैसाख ३० गते हुने निर्वाचनमा घरदैलो कार्यक्रममा धरान १४ विजयपुर पुगेका लोकतान्त्रिक गठबन्धका उमेद्वारहरुले धरानको विजयपुरलाई धार्मिक पर्यटनको हव बनाउने प्रतिबद्धता जनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली काँग्रेसबाट मेयरका प्रत्यासी बनेका किशोर राई र माओवादी केन्द्रका तर्फबाट उपमेयरका प्रत्यासी बनेका आइन्द्र विक्रम बेघाले सर्वसाधारणमाझ धरानको विजयपुरलाई धार्मिक पर्यटनको हब बनाउने प्रतिबद्धता जनाएका हुन् ।
घरदैलो कार्यक्रममा पुगेका मेयरका प्रत्यासी किशोर राईले धरानको विजयपुर मन्दिरै मन्दिर भएको ठाउ भएकोले यस ठाउलाई धार्मिक पर्यटनको रुपमा विकास गराउदै धेरै पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘धरान १४ विजयपुर धरानको गहना हो, यहाँ रहेका मठमन्दिरको दर्शन गर्नकै लागि भएपनि हजारौ सर्वसाधारण आउने गर्छन, नेपालबाट मात्र हैन भारतबाट पनि यस क्षेत्रमा आउने गर्छन्, पर्यटन प्रवद्र्धनका लागि यहा धेरै काम गर्न बाँकी छ, गठबन्धनको नेतृत्व उपमहानगरपालिकामा आए पहिलो प्राथमिकता यसमा हाम्रो जान्छ ।’
यस्तै घरदैलौ कार्यक्रममा सँगै हिडेका उपमेयरका प्रतिष्पर्धी आइन्द्रविक्रम बेघाले धरानको शिर, धार्मिक आस्था बोकेको स्थान विजयपुरको विकासमा गठबन्धनका तर्फबाट कुनै कन्ज्युयाई नहुने बताए । उनले भने, ‘धरानको विजयपुर प्रदेश नं. १ कै धेरै मन्दिर भएको ठाउ हो यसको विकास गरेर धार्मिक पर्यटक भित्र्याउन सके, यस क्षेत्रको मात्र हैन धरानकै विकास हुने निश्चित त्यसैले विजयपुर क्षेत्रको विकासमा गठबन्धन खुलेर लाग्छ ।’
उनीहरुले यस क्षेत्रको प्रचारप्रसारसँगै, मठमन्दिरको संरक्षण, भौतिक पूर्वधार निर्माण, खानेपानी समस्या समाधान लगायतका समस्याहरुलाई हल गर्ने मतदाताहरु समक्ष प्रतिबद्धता समेत गरेका थिए ।