धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृगौलाका विरामीलाई लक्षित गरी थप १२ बेडको डाइलासिसको नयाँ युनिट सञ्चालनमा ल्याएको छ । विगतमा ८ वटा सञ्चालनमा रहेको युनिटमा १२ बेड थपिएसँगै २० वटा डायलासिस मेसिन पुगेको छ । मेसिन थप भए सँग छुट्टै स्थानमा स्थानान्तरण गरिएको युनिटको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उद्घाटन गरेका छन् । उद्घाटनसँगै सञ्चालनमा समेत आइसकेको छ ।
डायलासिस मेशिनको अभावमा पालो नपाएर राम्रो उपचार नपाएकाहरुले अब सहज ढंगले डायलासिस गर्न पाउने भएका छन् । ५ महिनादेखि लगातार प्रतिष्ठानमा डाइलासिस गर्दै आएका धरान १४ का विकास श्रेष्ठले वेड विस्तार भएसँगै सहज भएको बताएका छन् । उनले भने, ‘पहिला आकस्मिक कक्षबाट आउनुपर्ने बाध्यता थियो, त्यसबेला कहिले राती दुई तीन बजे पालो आउने, कहिले कहिले भोलिपल्ट पालो आउने गथ्र्यो, हामीलाई अत्यस्तै असहज थियो तर अहिले वेड विस्तार गरेसँगै धेरै सहज भएको छ ।’
मोरङ पथरीकी कुमारी राईले पनि विगतमा डाइलासिस गर्न धेरै हैरानी व्यहोर्नु परेको बताईन् । पाँच बर्ष अघि देखि डाइलासिस गर्दै आएकी उनले विगतमा आकस्मिक कक्षबाट आउदा धेरै समस्या भोग्नु परेको बताउँछिन् । उनले भनिन्, ‘विगतकै जस्तो होला भनेको, अहिले त सिधै वेड भर्ना हुन पाइयो, डाइलासिस पनि भयो, धेरै सहज भएको छ ।’
डाइलासिस गर्न पालो पर्खेर बसेकाहरुका लागि सेवा विस्तारले सहज बनाएको प्रतिष्ठानका प्रवक्ता डा. चुडामणि पोख्रेलले बताए । उनले भने, ‘वेड विस्तार भएको छ, मृगौलाको विरामीले डाइलासिसका लागि विगतमा जुन समस्या भोगिरहेका थिए अब त्यो भोग्नु पर्दैन ।’ उनले यो पर्याप्त नभए पनि यसलाई अझै विस्तार गर्ने योजना प्रतिष्ठानको रहेको बताए । उनले भने, ‘विस्तारसँगै अहिले २० बेड सञ्चालनमा आयो, विस्तारै ५० भन्दा बढी वेड सञ्चालनमा ल्याउने प्रतिष्ठानको योजना छ ।’ वेड विस्तार गरेसँगै विरामीमात्र हैन उपचारमा संलग्न रहेका चिकित्सक तथा नर्सहरुलाई पनि सहज भएको बताएका छन् ।
मेडिसिन प्रोफेसर, इन्टर्न मेडिसिन विभागको विभागीय प्रमुख डा.रविन मास्केले उद्घाटन भएर सञ्चालनमा आए पनि केही समस्या भएको बताए । उनले भने, ‘नेपाल सरकारले विरामीका लागि डाइलासिस फ्रि गरिदिएको छ, त्यो राम्रो कुरा हो, आठवटा मेसिनले महिनाको ९ सय जना विरामीलाई धान्नुपर्ने अवस्था छ ।’ उनले एउटा विरामीलाई हप्ताको दुई पटक वा तीनपटक डाइलासिस गर्नुपर्ने भएपनि प्रतिष्ठानमा हप्तामा दुई पटक डाइलासिस गर्ने विरामी ३० जना मात्र रहेको बताए । उनले भने, ‘त्यो बाहेक आकस्मिक कक्षमा आउनुपर्ने बाध्यता छ, त्यति हुँदा पनि हप्तामा एक पटक पाउन पनि विरामीलाई मुस्किल छ ।’ उनले विरामीको चाप अत्याधिक भए पनि डाइलासिस मेसिन कम भएका कारण समस्या भएको बताए । उनले भने, ‘हाम्रो मेनपावर पनि कम छ, डाइलासिस मेसिनसँगै मेनपावर समेत थप्नु आवश्यक छ ।’
तत्कालीन उपकुलपति प्रा.डा शेखर कोइरालाको कार्यकालमा २०५६ सालमा प्रा.डा. ओ.पी. काल्राको पहलमा मेडिसिन विभागका डा. सञ्जीव कुमार शर्मा लगायत नर्सहरू बेङमु तामाङ, शोभा गुरुङ र पुनम काफ्लेलाई वीर अस्पताल, काठमाडौँमा २ महिने डाइलाइसिसको तालिममा पठाइएको थियो । उनीहरूको तालिम पश्चात् उपत्यका भन्दा बाहिर पहिलो पटक प्रतिष्ठानमा २ वटा बेडबाट डाइलाइसिस सेवा सुरु भएको थियो ।
विरामीको चापसँगै २ बेडले धान्न गाह्रो भए पछि बिरामी आफैले घरमै पनि गर्न सक्ने पेटबाट गर्ने सिएपिडी विधिको नेपालमै पहिलो पटक सफलतापूर्वक सुरुवात डा. संजिव कुमार शर्माले गरेका थिए । २०६१ सालमा डा. सञ्जीव कुमार शर्माको विशेष पहलमा बेलायतको रोयल लण्डन अस्पतालले ११ थान डाइलाइसिस मेसिन सहयोग स्वरूप उपलब्ध गराएको थियो । त्यसबेलादखेखि मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस युनिट स्थापना गरिएको थियो ।