धरान । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने तिन जना पत्रकारको नाम सार्वजनिक गरेको छ ।
सोमबार धरान १८ रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई दिईने जानकारी दिएको हो । यस्तै, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पारस राईलाई दिईने घोषणा गरेको छ । वीर गोर्खा पत्रकारिता पुरस्कारको राशि जनही २५÷२५ हजार रुपैयाँ रहेको छ भने वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।
सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राईले गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिन लागिएको बताए । यो पुरस्कार २०७९ साउन महिनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरि प्रदान गरिने समेत उनले जानकारी दिए । उनले वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशीमा ब्रिटिश आर्मीमा कार्यरत कप्रोल मण्डल थेवे र बहराइन आर्मीमा कार्यरत मविन राईको समेत सहयोग रहेको बताए ।
सेन्टरले गत वर्षदेखि प्रेस युनियन धरान नगरसमितिको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको सहयोगमा पुरस्कार वितरण गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक राईले नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईको बुबाको स्मृति कोषका लागि नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए ।