धरान । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरी कर्मचारीहरुलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रदेश प्रहरी कार्यालयको आरआइटि समुहमा कार्यरत प्रहरी सहायक निरीक्षक ज्ञानु खड्का र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी हवल्दार गुणराज अधिकारीलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । पुरस्कृत प्रहरीद्वयले सर्वसाधारणलाई त्रसित बनाउन बिष्फोटक पदार्थ प्रेशर कुकर बम राखेका मुख्य योजनाकार तथा संलग्न व्यक्तिहरुको पहिचान गरी निजहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।